गण्डकी प्रदेशकै ठुलो अस्पताल उपकरण बिहिन

बुलेटिन संवाददाता
१५ श्रावण २०७५, मंगलवार ०६:१२

१५ साउन, पोखरा । गण्डकी प्रदेशकै प्रमुख अस्पताल हो, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल । तर, प्रतिष्ठानमै अत्यावश्यक उपकरण नहुँदा सेवाग्राहीले सास्ती खेप्नुपरेको छ ।

करिब ५ वर्षअघि किनेको सिटिस्क्यान मेसिन एक वर्षयता थन्किएको छ । बितेका ५ वर्षमा मेसिन दुई पटक बिग्रिसकेको छ । किनेको केही समयमै सिटिस्क्यान मेसिन बिग्रिँदा दुई वर्ष थन्कियो । मर्मतपछि सञ्चालनमा आएको केही समयपछि मेसिन फेरि बिग्रियो र पछिल्लो एक वर्षदेखि सिटिस्क्यान मेसिन फेरि थन्किएको छ । डेढ करोड रुपैयाँमा किनिएको मेसिन मर्मतमै ३ करोड रुपैयाँ जति खर्च भइसक्यो भने ५ वर्षमा मात्रै साढे दुई वर्ष जतिमात्रै मेसिन चल्यो ।

सिटिक्यान बिग्रिएर थन्किएको छ भने एमआरआई मेसिन नहुँदा बिरामीले महंगो शुल्क तिरेर परीक्षण गर्न निजी अस्पताल वा क्लिनिकमा जान बाध्य छन् । ‘सिटिस्क्यान मेसिन बिग्रिएको छ, एमआरआई मेसिन त झन् छँदैछैन । डायलासिस मेसिनसमेत पर्याप्त छैन,’ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालक समिति सदस्य तीर्थलाल श्रेष्ठले भने, ‘अस्पतालमा जनशक्ति छ तर अत्यावश्यक उपकरण नै छैन ।’

सिटिस्क्यान, एमआरआई जस्ता अत्यावश्यक उपकरण नहुँदा बिरामीलाई निजी अस्पतालमा रिफर गर्नुपरेको छ । प्रतिष्ठानमा सिटिस्क्यान मेसिन नहुँदा केही दिनअघि बस त्रिशुलीमा खसेर घाइते भएका लालबहादुर ज्वारचनलाई पोखराका एकपछि अर्को चार वटा अस्पतालमा पुर्‍याउनुपरेको थियो ।

अत्यावश्यक उपकरण नभएकै कारण ज्वारचनजस्ता थुप्रै बिरामीले सास्ती खेप्नुपरेको छ । कुनै दुर्घटना वा अन्य गम्भीर खालका बिरामीलाई प्रदेशकै प्रमुख स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइए पनि सिटिस्क्यान तथा एमआरआई गर्न निजी स्वास्थ्य संस्थामा रिफर गर्नुपर्ने अवस्था छ ।

‘बिग्रेको हो भनेर प्रमाणित गर्नै एक वर्ष लाग्यो’

प्रतिष्ठानका डीन डा. नरेन्द्र गुरूङले आवश्यक उपकरण खरिद गर्न स्वास्थ्य मन्त्रालयमा जानकारी गराए पनि सुनुवाइ नभएको गुनासो गरे ।

‘सिटिस्क्यान बिग्रिएपछि विभागमा जानकारी गरायौं, एमआरआई लगायत उपकरण खरिद गर्न भनिरहेका छौं,’ प्रतिष्ठानका डीन डा. नरेन्द्र गुरूङले भने, ‘मन्त्रालयबाट हेर्न आउँछन्, जान्छन् तर न बन्छ न नयाँ खरिद हुन्छ । अब त लाज लागिसक्यो ।’

सानो सामान बिग्रिए पनि काठमाडौंमा नै भन्नुपर्ने अवस्था रहेको उनले गुनासो गरे । ‘सार्वजनिक खरिद प्रक्रियाअनुसार आफैं खरिद गर्न पनि मिल्दैन । सानो सामान बिग्रिए पनि काठमाडौंकै भन्नुपर्छ,’ डा. गुरूङले भने, ‘घरिघरि फोन गर्छु बनाउनै आउँदैनन् । सिटिस्क्यान मेसिन बिग्रेको हो भनेर प्रमाणित गर्नै एक वर्ष लाग्यो ।’

एक वर्षदेखि बिग्रेर थन्किएको सिटिस्क्यान मेसिन मर्मत गरेर पनि बन्न नसक्ने रिपोर्ट आएको छ । एमआरआई मेसिन भने खरिद प्रक्रियामै गइसकेका कारण ३/४ महिनाभित्र समस्या समाधान हुने डीन गुरूङले जानकारी दिए । प्रतिष्ठानमा दक्ष जनशक्ति भएर पनि उपकरण नभएकै कारण समस्या खेप्नुपरेको उनले गुनासो गरे ।

उपकरण मात्रै होइन, शौचालय, भवनलगायत कारण पनि स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्तव्यस्त बनेको छ । प्रतिष्ठानको ओपीडीमा धान्नै नसक्ने गरी बिरामीको चाप छ तर भवन अभाव रहेको डा. राजेश अधिकारीले जानकारी दिए ।

अहिले २ हजारदेखि २ हजार ५ सयसम्म दैनिक बिरामी आउने गरेका छन् । फलोअपका लागि आउनेसमेत गरी दैनिक ३ हजार सेवाग्राही आउने गरेका छन् । ‘अस्पतालमा बिरामी धानिनसक्नु छ तर उपकरण छैन,’ डा. अधिकारीले भने ।

भवनकै कारण ओपीडीमा समस्या परेका कारण प्रतिष्ठानसँगै रहेको भवनका लागि जिल्ला समन्वय समितिमा पहल भइरहेको डा. ध्रुवबहादुर अधिकारीले बताए ।

संघले नै अधिकार राख्दा बेवास्ता

सरकारले स्वायत्त हुने गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाएको छ । तर, अधिकार भने नदिँदा समस्या उत्पन्न भइरहेको चिकित्सकको गुनासो छ । स–साना मेसिन बिग्रिए पनि केन्द्रकै मुख ताक्नुपर्ने, थोरै रकममा हुने काम पनि नहुने, झन्झटिलो र लामो खरिद प्रक्रियालगायत समस्याले प्रतिष्ठानमा समस्या सिर्जना गरेको छ ।

सोमबार प्रतिष्ठानका समस्याबारे डीन डा. नरेन्द्र गुरुङ तथा चिकित्सकले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई बिफ्रिङ गरेका छन् । प्रतिष्ठानको निरीक्षणपछि मुख्यमन्त्री गुरुङलाई बिफ्रिङ गरिएको थियो । प्रदेश सांसद मनबहादुर गुरुङले अस्पतालका समस्याबारे मुख्यमन्त्रीको ध्यानाकर्षण गराए ।

मुख्यमन्त्री प्रतिष्ठानको निरीक्षणमा पुग्दा सेवा लिन पुगेका बिरामीको चाप थियो । भीडभाडमा सेवा लिन सेवाग्राहीलाई निकै सास्ती थियो भने सिटिस्क्यान राखिएको कोठामा भोटे ताल्चा मारिएको थियो ।

निरीक्षणपछि मुख्यमन्त्री गुरुङले प्रतिष्ठान नेपाल सरकार मातहतमै रहेकाले प्रदेश सरकारले सहयोगी भूमिका निर्वाह गर्नमात्रै सक्ने बताए । डेढ करोडमै आउने मेसिन पनि नहुने अवस्था आउन नदिन २ वटा सिटिस्क्यान मेसिन राख्न सकिने, डायलासिस मेसिन १४/१५ वटाका ठाउँमा अझै त्यति नै थप्न सकिने मुख्यमन्त्री गुरुङले बताए ।

सोही ठाउँमा उपस्थित एक जनाले मुख्यमन्त्रीलाई सोधे, ‘प्रदेशले बजेट छुट्याउन मिल्दैन ?’ जवाफमा मुख्यमन्त्रीले भने, ‘प्रतिष्ठान केपी ओली मातहत छ, पृथ्वीसुब्बाले के गर्न सक्छ र ? प्रदेश सरकार सहयोगीमात्रै बन्न सक्छ ।’

प्रदेश सरकारको मातहत भएको भए यस्ता सानातिना समस्या आउनै नदिने गुरुङको भनाइ थियो । अस्पतालका समस्या सुल्झाउन नेपाल सरकारसँग समन्वय प्रदेश सरकारले गर्ने उनले बताए ।