पत्रकार महासंघको आन्दोलन फिर्ता होइन स्थगित मात्रै हो: उपाध्यक्ष पोखरेल

२६ असार, बुटवल । नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष बिपुल पोखरेलले महासंघले सञ्चार सम्वन्धी बिभिन्न बिधेयकको बिरोधमा सुरु गरेको आन्दोलन फिर्ता लिएको नभई स्थगित मात्रै गरेको बताएका छन ।

नेपाल प्रेस युनियन रुपन्देहीले आयोजना गरेको संघीयतामा पत्रकारिताको महत्व र भूमिका बिषयक अभिमुखीकरण तालिमको आज बुटवलमा उदघाटन गर्दै उपाध्यक्ष पोखरेलले सत्तारुढ दल नेकपाको संसदीय दलले सञ्चार सम्वन्धी बिधेयकमा प्रेस स्वतन्त्रताको बिरोधमा भएका बिषय हटाउने र सरोकारवालाहरुसंग छलफल गर्ने लिखित सहमति गरेकाले तत्कालका लागि सडक आन्दोलन स्थगित गरेको बताए ।

उनले भने -‘आन्दोलन फिर्ता गरीएको होइन तेश्रो चरणका सडक आन्दोलन स्थगित गरीएको हो प्रेस स्वतन्त्रताको पक्षमा र सञ्चार सम्वन्धी बिभिन्न बिधेयक माथि छलफल दवाव लगायतका कार्यक्रम जारी रहन्छन ।’

नेपाल प्रेस युनियनका सल्लाहकार हरी लम्सालले मुलुक संघीयतामा गएपछी पत्रकारहरुको भूमिका पनि बदलीएकाले पत्रकारहरुले सक्रिय भई सिर्जनशिल तवरबाट पत्रकारीता गर्नुपर्ने बताए ।

युनियनका सभापति रेखा भुसालले प्रेस युनियनमा आबद्ध पत्रकारहरुको क्षमता अभिबृद्धिका लागि तालिम आयोजना गरीएको बताइन । युनियनका रुपन्देही सचिव श्यामशंकर पाण्डेको सञ्चालनमा सम्पन्न उदघाटन समारोह पश्चात उपाध्यक्ष पोखरेलको सहजीकरण गरेका थिए ।