रिसको परिणाम अन्तत : हानी

चक्रपाणी डुम्रे

क्रोधको अर्थ, कुनै अनुचित र हानिकारक वा अनपेक्षित मन नपर्ने काम कुरो भएको अवस्थामा उत्पन्न हुने अहंकार हो र जसबाट मनमा पैदा हुने उग्र तथा तीब्र आवेग वा रिस हो ।

भगवान श्रीकृष्णले गीतामा भन्नुभएको छ ” क्रोधवाट पूर्णमोह अथवा अत्यन्तै मूढभाव पैदा हुन्छ र त्यस मूढभावबाट स्मरण शक्तिको विनाश हुन्छ । स्मरण शक्ति हराएपछि बुद्धि या ज्ञानशक्तिको नाश हुन्छ । बुद्धि बिग्रेपछि मानिस आफ्नो स्थितबाट गिर्दछ अर्थात राम्रो वा नराम्रो कुनै कुरा ठम्याउन सक्दैन र आफ्नो अवस्था वा स्थितिबाट भ्रष्ट हुन्छ ।”


क्रोध मानिसको सबैभन्दा ठूलो शत्रु हो । क्रोध बढेपछि मानिसमा अहंकार र अभिमानको वृद्धि हुन्छ र उ विध्वंसात्मक कर्मतिर पनि प्रवृत्त हुन्छ । क्रोधबाट मानिसको विबेक शक्ति हराउँछ र उसमा मूढभाव पैदा हुन्छ । मूढभाव या अविवेकपुर्ण मानिसमा स्मरण शक्ति हराउँछ, बुद्धको नाश हुन्छ । यसबाट राम्रो नराम्रो र कर्तव्य अकर्तव्यलाई छुट्याउन सक्ने ज्ञान हराउँछ । मान्छेले जतिबेला अहंकार प्रकट गरिरहेको हुन्छ, त्यतिबेला आफ्नो स्वभाविक संबेगलाई गुमाएको हुन्छ । बुद्धिको संतुलन खलबलिन्छ ।

सेक्सपियरले क्रोधलाई ‘ क्षणिक पागलपन’ भनेका छन् । मानिस जब रिस वा अभिमानमा मत्त हुन्छ त्यतिबेला उ बाट हिंसा र आक्रमणको खतरा हुन्छ । तसर्थ मान्छे जान्दा-जान्दै पनि क्रोधको सिकार हुनपुग्छ । क्रोधबाट अन्याय, कठोरता, क्रूरता, ईष्र्या, चोरी, हत्या, द्वेश, निर्दयताजस्ता दुस्कर्म गर्न मान्छे बाध्य हुन्छ । जो सङ्ग चेतना छ, उसले आफ्ना गुण र दोष राम्ररी देख्न सक्छ । चेतना वा विवेकपूर्ण अवस्थामा रहन धैर्य, शान्ति र स्थिरता अथवा सहनशीलता आवश्यक छन् ।

” एक पटक कतै कुनै नदिको किनारमा एक जना धोबी लुगा धुन आएछ । त्यही ढुङ्गाको छेउमा एक जना महाराज साधु बन्ने रहरमा ध्यान गर्दै थिए । धोबीले आग्रह गारो अलि पर गएर ध्यान गर्नको लागि, प्रतिक्रिया आएन । घच्घच्यायो र पनि प्रतिक्रिया आएन । अन्ततः धोबीले उनलाई धकेलिदियो । ध्यान गर्दै गरेका महाराजका अँखा खुले क्रोध ज्वाला दन्कियो । तथानाम झगडा हुन थालो । हुदा हुँदै हात हालाहाल भयो । एकै छिन पछि झगडा आफै साम्य भयो । दुवै अलगअलग दिशामा बसेर आआफ्नो काम गर्न थाले । एउटा ब्यक्तिले अलि परबाट त्यो दृश्य देखिरहेको रहेछ । नजिकै आएर सोधेछ ‘साधु महाराज, धेरै चोट त लागेन नि ? धोबीले निकै हिर्काए जस्तो लागेको थियो ।’ साधु महाराजले भने तिमी त्यतिबेला मलाई बचाउन किन आएनौ त ? अनि त्यस ब्यक्तिले उत्तर दिदै भन्यो – साधु महाराज परस्पर युद्धको समयमा मलाई निर्णय लिन गारो पर्‍यो, को धोबी हो, को साधु हो ?’ प्रतिशोध तथा बदलाको भावले साधुलाई धोबीकै स्थरमा उतारिदिदो रैछ । साधु महाराज नाजवाफ भए ।” खासमा क्षमा याचना गर्न नसक्ने र दिन नसक्ने के साधु हुन सक्छ ?? हामीले पनि तिनी साधु जस्तो आगो मा आगो होइन शित्तलता छर्नु छ । साधुमा अहंकार ब्याप्त थियो ,उनी धैर्य गर्न र सहन गर्न सकेनन् र आफ्नो स्थिति बाट गिर्दा साधुबाट मुर्ख समान हुनु पार्‍यो ।

 

क्रोधको परिणाम अन्ततः हानी वा विनाश नै हो । बिशिस्ट विद्वानले भनेका छन्” क्रोधको सर्वोत्तम औषधि मौन हो” मौनता सङै सरलता, सहजता पनि क्रोध निवरणका उपाय हुन् ।

क्षमा, आपसी प्रेम र भ्रातृत्व, करुणा, विवेक, निराभिमान जस्ता गुणहरूको विकास गर्न सक्यौं भने मात्र हाम्रो जीवनमा क्रोध केहि हदसम्म नियन्त्रण गर्न सकिन्छ । अस्तु ।

( लेखक स्वतन्त्र पत्रकार संघ नेपाल, रूपन्देहीका उपाध्यक्ष हुन् ) ।