महङ्गा कलेजलाई चुनौती: नवज्योतीमा १ हजारमा ११ को भर्ना

प्रविना पंगेनी

२६ असार, बुटवल । महङ्गा विद्यालयको सेरोफेरोमा रहेर रुपन्देहीको मणिग्राम ४ नम्बरमा रहेको नवज्योती स्कुलले कम शुल्कमै कक्षा ११ संचालनमा ल्याएको छ । आसपासमा रहेका विद्यालयहरुलाई चुनौति दिदै सो विद्यालयले १ हजार शुल्क लिएर कक्षा ११ मा बिद्यार्थी भर्ना शुरु गरेको हो ।

निजी विद्यालयले पनि कम शुल्कमा गुणस्तरिय शिक्षा प्रदान गर्न सम्भव छ भन्ने कुराको उदाहरण दिदै सो विद्यालयले मासिक सुल्क पनि सोही अनुसार निर्धारण गरेको छ ।

विद्यालयहरुले नाफामुखी मात्र नबनी सामाजिक उत्तरदायित्व पनि वहन गर्नुपर्छ भन्ने कुरालाई ध्यानमा राखेर कम शुल्कमै गुणस्तरिय शिक्षा प्रदान गर्न थालेको बिद्यालयका प्राचार्य गोपाल ज्ञवालीले बताए ।

निकै कम शुल्कमा विद्यार्थी भर्ना गर्न थालेपछि त्यस आसपासमा भने बिद्यालयले आगामी दिनमा प्रदान गर्ने शिक्षाको गुणस्तरका बारेमा टिका टिप्पणी हुन थालेका छन ।

बजारमा कम शुल्कमा पाइने वस्तु तथा सेवाको गुणस्तरियता माथि आशंका गर्ने आम परिपाटि भएकाले पनि केही त्यस्ता आशंका उठ्नु स्वभाविक भएको भन्दै प्राचार्य ज्ञवालीले आफुहरुको टिमले सत प्रतिसत नतिजा ल्याउने तवरबाट योजना बनाएको दावी गरे ।

“आम आशंकालाई चिर्न पनि हामी पुर्ण रुपमा प्रतिवद्ध भएर लागेका छौ,” उनले भने “रुपन्दहीका दक्ष एवं अनुभवि शिक्षकहरुले अध्यापन गराउने व्यावस्था मिलाएका छौ ।”

विद्यालयले यसबर्ष शिक्षा संकायमा अङ्ग्रेजी, नेपाली र स्वास्थ्य साथै व्यावस्थापनमा कम्प्युटर साइन्स, फाइनान्स र होटल म्यानेज्मेन्टका कक्षा संचालन गर्दैछ ।

विधालयमा विधार्थीका लागि चाहिने ल्याब तथा सम्पुर्ण भौतिक पुर्वाधारको व्यवस्था गरेको भन्दै प्राचार्य ज्ञवालीले अतिरिक्त क्रियाकलापलाई पनि विद्यालयले विशेष महत्व दिने बताए । जसका लागि क्रिकेटमा बसन्त शाही साथै तेक्वान्दोमा आईं. टि. एफ. तेक्वान्दोका प्रदेश ५ सचिव नवराज खरेल र अन्य एथलेटिक्सका लागि पुर्व नेपाल प्रहरी रामु पाण्डेले प्रशिक्षण दिने उनले बताए ।

कम शुल्कमा निजी विद्यालयको शिक्षा पाउनु विद्यार्थीका लागि खुसिको कुरा छ तर विद्यालयले भर्नाका बेला गरेका प्रतिवद्धता भुल्यो भने अभिभावकको बिश्वास टुट्ने पक्का छ । यसैगरि कम शुल्कलाइ आगामी बर्षहरुमा पनि निरन्तरता दिन सके विद्यालयले नाफा भन्दा सेवालाई टेवा दिएको साच्च्किै प्रमाणित हुनेछ ।