बाल संवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार दश पत्रकारलाई प्रदान गरिने

२५ असार, काठमाडौ । यस वर्षको ‘बाल संवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार’ राष्ट्रिय समाचार समिति राससका प्रकाश सिलवालसहित १० जना पत्रकारलाई प्रदान गरिने भएको छ ।

नेपाल पत्रकार महासङ्घले केन्द्रीय बालकल्याण समितिको सहकार्यमा प्रदान गर्दै आएको सो पुरस्कारबाट राससका सिलवाल, नागरिक दैनिकका हिमाल लम्साल संयुक्त उपत्यका र खगेन्द्र अधिकारी उपत्यका बाहिर, ताप्लेजुङ लाई प्रदान गर्ने निर्णय गरेको हो ।

रेडियोतर्फ उपत्यकामा रामकुमारी खड्का रेडियो उज्यालो एफएम र उपत्यका बाहिरबाट रुमा रिजाल ९ रेडियो सप्तकोशी एफएम लाई प्रदान गर्ने भएको छ ।

त्यस्तै टेलिभिजनतर्फ धनवीर दाहाल, रुकुम नेपाल टेलिभिजन र कोपिला पोखरेल बुद्ध आवाज टेलिभिजन, कपिलवस्तु, जनता टेलिभिजनबाट धनमाया भुसाल नवलपरासी संयुक्त–उपत्यका बाहिर र कार्यक्रम प्रस्तोतातर्फ सामुदायिक रेडियो प्रसारक सङ्घ सिआइएन र कान्तिपुर एफएमका शर्मिला खनाललाई प्रदान गरिने भएको छ ।

पुरस्कार छनोटका लागि नेपाल पत्रकार महासङ्घ, केन्द्रीय बालकल्याण समिति र प्रेस काउन्सिल नेपालको संलग्नतामा गठित छनोट समितिले यही असार १७ गते बसेको बैठकले उक्त १० जना पत्रकारलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

छनोटका लागि गत वैशाख २६ गतेदेखि जेठ १५ गतेसम्म प्राप्त भएका २८ आवेदनको अध्ययन तथा छानबिन गरी रेडियो, छापा, टिभी र कार्यक्रम प्रस्तोतालाई दिने भएको हो ।

छनोट समितिले आवेदनमा सामग्रीको प्रस्तुति र भाषा, विषयवस्तुको छनोट तथा गहनता, विषयको सान्दर्भिकता, खोज तथा अनुसन्धान पत्रकारिता प्रयोग एवं व्यक्तिगत विवरण र अनुभवलाई मूल्याङ्कनको आधार बनाएको थियो ।

सो पुरस्कार यही असार २९ गते महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा मगरले प्रदान गर्नुहुनेछ । पुरस्कारको राशि जनही रु २५ हजार रहेको छ ।