बजेटले कसैलाई विभेद गरेको छैन : अर्थमन्त्री खतिवडा

२० असार, काठमाडौ‌ । अर्थमन्त्री डा‍. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ का लागि विनियोजित बजेटले कोही कसैलाई पनि विभेद नगरेको दाबी गरेका छन् ।

राष्ट्रियसभाको शुक्रबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलको क्रममा अर्थ मन्त्रालयका सम्बन्धमा उठेका प्रश्नको जवाफ दिँदै उनले बजेटले कुनै पनि प्रदेश वा खास क्षेत्रलाई भेदभाव नगरेको जिकिर गरे ।

‘यो समाजवाद उन्मुख बजेट हो, त्यसआधारमा बजेट आएको छ, वादप्रति विश्वास छैन भने छलफल गरौँ हैन भने बजेटले प्रदेशलाई विभेद गरेको छैन, सबै नागरिकको मौलिक अधिकार हो,’ उनले भने, ‘त्यसैले एकले अर्कोपक्षलाई आरोपलगाउने भन्दा पनि राष्ट्रिय एजेण्डमा मिलेर जाने हो तब मात्र मुलुकलाई समृद्ध बनाउन सकिन्छ ।’

अर्थमन्त्री खतिवडाले बजेट नेता केन्द्रित नभएको स्पष्ट पार्दै आलोचनाका लागि मात्रै आलोचना नगर्न आग्रह गरे । उनले भूगोल र जनसङ्ख्याको मापदण्डका आधारबाट सन्तुलित रुपमा बजेट विनियोजन भएको बताए ।

प्रदेशगत र स्थानीय तहगत रुपमा पनि मानव विकास सूचकाङ्कको आधारमा बजेट जाने भएकाले शिक्षा, स्वास्थयलगायत विषयलाई प्राथमिकता दिएर विनियोजन भएको उनको भनाइ छ ।

क्रमागत आयोजनालाई छाडेर जान नसकिने भएकाले केही जिल्लामा बढी आयोजना परेको जस्तो देखिएको प्रष्टीकरण दिए ।

‘प्राथमिकताका आधारमा सबै क्षेत्रमा समानुपातिक रुपमानै बजेट विनियोजन गरिएको छ,’ मन्त्री खतिवडाले भने । उनले प्रदेश र स्थानीय तहको मागका आधारमा विधि र प्रक्रियासम्मत नयाँ आयोजना अघि बढाइएको जानकारी दिए ।

आगामी साउनदेखि नयाँ आर्थिक वर्षको परियोजना माग्न शुरु गरिने हुँदा आगामी आवको बजेट तथा योजना कार्यान्वयनमा समस्या नआउने मन्त्री खतिवडाले विश्वास व्यक्त गरे ।