काेरियामा आत्महत्या गर्ने नेपालीकाे शव स्वदेश पठाउन आधा खर्च एचआरडीले दिने

शिव भुसाल
२१ असार, सउल । कोरियामा आत्महत्या गर्ने नेपालीको शव स्वदेश पठाउन लाग्ने खर्चको आधा हिस्सा रकम एचआरडी कोरिया बेहोर्ने भएको छ ।

यसरी ज्यान गुमाउने नेपालीको शव स्वदेश पठाउँदा लाग्ने खर्च मध्ये करिब आधा अर्थात ३० लाख कोरियन वन एचआरडीले उपलब्ध गराउने गरी सम्झौता भएको सिओल स्थित नेपाली दूतावासले जनाएको छ ।

गतवर्ष दूतावासले कोरियामा मृत्यु हुने नेपालीको शव स्वदेस पठाउँदा लाग्ने खर्च बेहोर्न एचआरडीसँग आग्रह गरेकोमा आत्महत्याको केसमा ३० लाख वन उपलब्ध गराउन तयार भएको कोरियाका लागि नेपाली श्रम सहचारी डिल्लीराम बाँस्तोलाले जानकारी दिए ।

उक्त सम्झौता मे महिना देखि लागु भएको र एउटा केसमा रकम आउने प्रक्रियामा रहेको बाँस्तोलाले बताए ।
कोरियामा ज्यान गुमाउने नेपालीको शव नेपाल पठाउनकालागि दूतावासले परराष्ट्र मन्त्रालयमार्फत वैदेशिक रोजगार प्रर्वद्धन बोर्डलाई जानकारी गराएसँगै कल्याणकारी कोषबाट रकम उपलब्ध गराउने व्यवस्था छ ।

कोषले रोजगारीको शिलसिलामा मृत्यु हुने ईपियस श्रमिकको शव नेपाल पठाउनकालागि रकम उपलब्ध गराउँदै आएको छ ।

अन्य देशको हकमा रोजगारीको क्रममा ज्यान गुमाउने विदेशी श्रमिकको शव स्वदेश पठाउने खर्च रोजगारदाताले बेहोर्ने व्यवस्था भएपनि कोरियाको हकमा भने नेपाल सरकारले नै बेहार्दै आएको छ ।