२४ घण्टाको लागि नेपालमा प्रसारण हुने विदेशी च्यानल बन्द

९ असार, काठमाडौ । सरकारले विदेशी च्यानलमा विज्ञापन देखाउन नपाइने व्यवस्था (क्लिन फिड) लागू गर्न खोजेको भन्दै केवल टेलिभिजन व्यवसायीहरुले नेपालमा प्रसारण हुने विदेशी च्यानल बन्द गरेका छन् ।

सोमबार १२ बजेदेखि विदेशी च्यानलको प्रसारण बन्द गरिएको केवल टिभी व्यवसायी महासंघ, इन्टरनेट सेवा प्रदायकहरुको संलग्नतामा गठन भएको इन्टरनेट तथा डिजिटल सेवा प्रदायक समन्वय समितिले जनाएको छ ।

भोलि दिउँसो १२ बजेसम्म विदेशी च्यानल प्रसारण नहुने समितिको विज्ञप्तिमा उल्लेख छ । सरकारले राष्ट्रिय सभामा दर्ता गरेको विज्ञापन सम्बन्धी विधेयकमा क्लिन फिड लागू गर्ने र विदेशी विज्ञापनलाई डबिङ गरी नेपाली भाषामा प्रसारण गर्न नपाइने व्यवस्था राखिएको छ ।

विधेयकमा सरकारले राजपत्रमा सूचना प्रकाशित गरी क्लिन फिड लागू गर्न सक्ने विधेयकमा उल्लेख छ । क्लिन फिड लागू भए नेपालमा प्रसारण हुने विदेशी च्यानल सञ्चालन गर्न नसकिने भन्दै आन्दोलनस्वरुप विदेशी च्यानल बन्द गरिएको हो ।