होटल तथा रेष्टुरेण्ट व्यवसायीको साधारणसभा

२५ जेठ, बुटवल । होटल तथा पर्यटन व्यवसायलाई सुधार गरिनु पर्ने सरोकारवालाले बताएका छन् । देश विकासको मूल आधार पर्यटन क्षेत्र भएकाले व्यवसायलाई सुधार गरेर मर्या्दित र व्यवस्थित गर्नुपर्ने उनीहरुको भनाइ छ ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको बुटवलमा सम्पन्न १९ औं साधारण सभामा बोल्ने वक्ताले पर्यटन क्षेत्रको विकासमा ध्यान दिन तिनै तहका सरकारलाई आग्रह गरे ।

पर्यटन क्षेत्रको विकासलाई तिनै तहका सरकारले पहिलो प्राथमिकतामा राखेमा मूलुकको आर्थिक समवृद्वि छिटो हुन सक्ने उनीहरुको भनाइ छ । साधारण सभाको उदघाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बुटवललाई पर्यटकीय हवको रुपमा विकास गर्न सकिने बताए । बुटवल उपमहानगरपालिकाले विकासको पहिलो आधारको रुपमा पर्यटनलाई प्राथमिकतामा राखेको बताए ।

बुटवल र बुटवल आसपासमा रहेका प्राकृतिक, सांस्कृति र धार्मिक क्षेत्रको विकास गर्नुपर्ने र त्यसका लागि बुटवल उपमहानागरपालिका सबैसंग सहकार्य गरेर काम गर्न खाजेको नगर प्रमुख सुबेदीले बताए । एक वर्ष भित्रमा बुटवलमा डेढ किलो मिटर डुंगा चलाउने गरी काम भैरहेको बताउंदै कालिका पथ र श्रवण पथलाई आन्तरिक वाइपास सडकको रुपमा विस्तार गरिने उनले बताए ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका पूर्व अध्यक्ष माधव नेपालले होटल तथा रेष्टुरेण्टहरुको स्तरवृद्वि गरेर आन्तरिक र बाह्य पर्यटकलाई समय अनुसारको सेवासुविधा दिनु पर्ने बताए । उनले जग्गा अभाव र भएको जग्गाको अत्यधिक मूल्य बृद्धिका कारण बुटवल क्षेत्रमा समयको माग अनुसार पर्यटन व्यवसाय चलाउन नसकिने अवस्था आएको उल्लेख गर्दै स्थानीय सरकारले व्यवसायीलाई कम्तीमा २५ वर्षका लिजमा जग्गा उवलब्ध गराउने व्यवस्था मिलाइ दिनुपर्ने बताए ।


होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ प्रदेश नम्बर पांचका अध्यक्ष भाष्कर काफ्लेले पर्यटन व्यवासय सेवामुखि व्यवसाय भएकाले समयको माग अनुसार होटलहरुको स्तरवृद्वि गर्नुपर्ने बताए । सरकारले पर्यटनलाई विकासको आधार मानेपनि वजेटले सम्बोधन गर्न नसकेको बताउंदै तिनै तहका सरकारलाई पर्यटन क्षेत्रको विकासमा लगानी बढाउन माग गए ।

कार्यक्रममा नेकपाका बुटवल नगर अध्यक्ष बाबुराम पन्थी, रुपन्देही व्यापार संघका अध्यक्ष पदम श्रेष्ठ, बुटवल उद्योग वाणिज्य संघका बरिष्ठ अध्यक्ष उज्वल कसजु, होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ प्रदेश नम्बर पांचका बरिष्ठ उपाध्यक्ष महेन्द्र श्रेष्ठ, होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ सिद्वार्थनगरका अध्यक्ष लिलाधर भट्टराई, संघका वरिष्ठ उपाध्यक्ष जीवन श्रेष्ठ, पत्रकार डायलसन अधिकारी,पत्रकार महासंघ रुपन्देही उपाध्यक्ष निरु गौतम लगायतले आआफ्नो भनाइ राखेका थिए ।

संघका अध्यक्ष समुन्द्र जीसीको अध्यक्षता र महासचिव माधवकुमार खनालको सञ्चालनमा भएको कार्यक्रममा उत्कृष्ट पर्यटन पत्रकारिता पुरस्कारबाट पत्रकार डायलसन अधिकारीलाई पुरस्कृत गरिएको थियो । त्यस्तै संघले कार्यालय प्रमुख टिकाराम ज्ञवालीलाई सम्मान गरीएको थियो ।