हावाहुरीबाट मृत्यु भएकाको परिवारलाई डेढ लाख

२६ जेठ, कैलाली । गत बिहीबार भिषण हावाहुरीका कारण मृत्यु भएका सुदुरपश्चिम दुई जनाको परिवारलाई प्रदेश सरकारले जनही डेढ लाख रुपैयाँ राहत प्रदान गर्ने भएको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले हावाहुरीमा परी ज्यान गुमाएकाका परिवारलाई राहात स्वरुप प्रति परिवार एकलाख पचास हजार दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहले जानकारी दिए ।

प्रदेश सरकारले हावाहुरीका कारण पूर्ण क्षति पुगेका परिवारलाई क्षतिपुर्तिस्वरुप २० हजारका दरले राहत वितरण गर्ने तथा आशिंक क्षति भएका परिवारलाई १० हजार राहत दिने निर्णय पनि गरेको छ ।

त्यस्तै पशुपंक्षी, कृषिलगायतका अन्य क्षेत्रमा भएको क्षतिको अध्ययन गरी मापदण्ड बनाएर सम्बन्धित मन्त्रालयले राहत वितरण गर्ने निर्णय भएको पनि मन्त्री शाहले जानकारी दिए ।

गत बिहीबार ठूलो हावाहुरी चल्दा कैलाली र कञ्चनपुरमा दुई जनाको मृत्यु भएको थियो भने सयौँ घरमा क्षति भएको छ ।