विश्वको पाँचौ अग्लो मकालु हिमाल र मकालु वरुण राष्ट्रिय निकुञ्जमा भ्रमण गर्ने पर्यटकको संख्या वृद्धि

२३ जेठ, संखुवासभा । विश्वको पाँचौ अग्लो मकालु हिमाल र मकालु वरुण राष्ट्रिय निकुञ्ज भ्रमणका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्यामा वृद्धि भएको छ ।

गएको वर्षको तुलनामा यो बर्ष मकालु हिमाल आरोहण गर्न आउने र मकालु बरुण राष्ट्रिय निकुञ्ज अध्ययन र भ्रमणका लागि आउने स्वदेशी तथा विदेशी पर्यटकहरु ८० प्रतिशतले बढेको हो ।

देशमा शान्ति सुरक्षाको सुव्यवस्था, स्थानीय बाटोघाटो र मुख्य सडकको अवस्था सुधार भएपछि बर्से्नि पर्यटकहरु बढ्न थालेको मकालु बरुण राष्टिय निकुञ्जका सूचना अधिकारी हिमाल पाठकले बताए ।

उनको अनुसार, गएको आर्थिक वर्ष ०७४–७५ मा सार्क क्षेत्रबाट ४१ जना र त्यसबाहेक अन्य विदेशीहरु एक हजार २ सय ११ जना गरी कुल एक हजार दुई सय ५२ जना पर्यटकहरु आएका थिए ।त्यसको तुलनामा आर्थिक वर्षको १० महिनामा नै ८० प्रतिशतले पर्यटकहरु आउने क्रम बृद्धि भएको हो ।

आर्थिक वर्ष ०७५–७६ को बैशाख सम्मको १० महिनामा मात्रै २ हजार ६९ जना पर्यटकहरु हिमाल आरोहण गर्न र मकालु वरुण राष्ट्रिय निकुञ्जमा अध्ययन र भ्रमणका लागि भित्रिएका छन् ।