विना इन्टरपोल नेपाल छिरेका ३ भारतिय प्रहरी नेपाल प्रहरीको नियन्त्रणमा

३ असार, डडेलधुरा । भारतको छत्तिसगढबाट खानतलासीका लागि आएका ३ जना भारतीय प्रहरीलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ। दुई महिनाअघि भागी विवाह गरेका किशोरकिशोरीलाई खोजतलास गर्न आएको भारतीय प्रहरी अधिकारी अशोक पाण्डे नेतृत्वको टोलीलाई जिल्ला प्रहरी कार्यालयमा निगरानीमा राखिएको हो ।

भारतको छत्तिसगढ राज्यको कोबार जिल्लाकी एक १५ वर्षीया किशोरीलाई अछामको बान्नीगढी जयगढ गाउँपालिका–६, दर्नाका १९ वर्षीय केशव सोनीले भगाएर नेपाल ल्याएका थिए। किशोरीको परिवारले छोरी खोजीको निवेदन दिएपछि छत्तिसगढ प्रहरी महानिरीक्षकले भारतको पञ्जाव, हरियाणा, उडिसा र नेपालको अछाममा खानतलासी गर्न अनुमति दिएको थियो । त्यही अनुमतिका आधारमा पाण्डे नेतृत्वको टोली नेपालगन्जको रुपेडिया नाका हुँदै अछाम आएर किशोकिशोरीको खोजतलास गरेका थिए ।

आइतबार अछाम आएको भारतीय प्रहरी टोली नेपाल प्रहरीलाई भेटी सोमबार बन्निगढी जयगढ गाउँपालिकामा पुगेको थियो। त्यहाँबाट किशोरकिशोरीलाई पक्राउ गरी लैजान खोजेपछि गाउँपालिकाको न्यायिक समितिले छिनोफानो गर्ने भन्दै स्थानीयले रोकेका थिए। विवाद नमिलेपछि भारतीय प्रहरीसहित किशोरकिशोरीलाई नेपाल प्रहरीले जिल्ला सदरमुकाम ल्याएको छ।

भारतीय प्रहरीले किशोरकिशोरी दुवैलाई लैजान पाउनुपर्ने अडान राखेको छ। तर, नेपाल प्रहरीले अभिभावकबिना किशोरीलाई भारतीय प्रहरीको मात्र जिम्मामा नछाड्ने र नेपाली नागरिक भएकाले सोनीलाई पठाउनै नमिल्ने धारणा राखेको छ। भारतीय प्रहरीले जिद्दी गर्दै दुवैलाई लैजाने भनेपछि नेपाल प्रहरी सशंकित भएको छ।

‘अहिले नै केटाकेटीलाई पठाउन मिल्दैन, उनीहरू केटाकेटी दुवै लिएर जाने कुरा गर्छन्,’ प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले भने, ‘जसरी पनि लैजाने भनेकाले उनीहरूलाई पनि सोधपुछका लागि अनौपचारिक नियन्त्रणमा राखिएको छ।’ उनले यो विषयमा गृह मन्त्रालयबाटै निर्णय हुनुपर्ने बताए।

गृह मन्त्रालयको आदेश नआउँदासम्म भारतीय प्रहरी नेपाल प्रहरीकै नियन्त्रणमा हुनेछन्। निमित्त जिल्ला प्रहरी प्रमुख कलेन्द्रविक्रम शाहीले यो विषयमा मंगलबार थप छलफल हुने जानकारी दिए।

आपत्तिजनक कार्य: रावल
नेकपाका नेता एवं पूर्वगृहमन्त्री भीम रावलले भारतीय प्रहरीले नेपालभित्र छिरेर कारबाही प्रक्रिया अघि बढाएको भन्दै आपत्ति जनाएका छन्। गृहजिल्ला अछाममै रहेका नेता रावलले भारतको एउटा राज्यको प्रहरीले नेपालको भू९भागमा खानतलासीको आदेश जारी गर्नु र त्यसका आधारमा भारतीय प्रहरी भित्रिनु गम्भीर विषय भएको बताए।

‘कुनै विषयमा खानतलासी नै गर्नुपर्ने भए पनि इन्टरपोलमार्फत आउनुपर्छ, नेपाललाई भारतको एउटा राज्यको हैसियतमा पत्र बनाएर खानतलासी गर्न पठाइएको छ। यो गम्भीर विषय हो,’ उनले भने, ‘नेपालको सार्वभौसत्तामाथिको यो गाईजात्रा हो।’