रुपन्देहीको देवदहमा एक युवकको हत्या, घटनामा संलग्न ५ जना पक्राउ

२६ जेठ , बुटवल । रुपन्देहीको देवदहमा हत्याको शृंखला फेरी दोहोरिएको छ । बिगतमा पटक पटक हत्याका घटना भइरहेको देवदहमा गएराति फेरि एक युवकको हत्या भएको हो । देवदह नगरपालिका–८, विशालनगरका २८ वर्षीय सुमन थापाको हत्या भएको हो ।

कुटपिटबाट गम्भीर थापाको उपचारका क्रममा देवदह मेडिकल कलेज भलुहीमा मृत्यु भएको इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लले बताए ।

उनीमाथि साथीभाइले कुटपिट गरेको बताइएको छ । प्रहरी नायव उपरीक्षक मल्लका अनुसार, बेहोस अवस्थामा फेला परेका उनको निधार र छातीमा निलडाम भेटिएको थियो ।

प्रहरीले उनको हत्यामा संलग्नको आशंकामा ५ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई अहिले इलाका प्रहरी कार्यालय बुटवल ल्याइएको छ ।

पक्राउ पर्नेहरू ट्रयाक्टर चालक र लेबर काम गर्दै आएका मजदूर रहेको बताइएको छ। यसअघि टिपर चालक रहेका मृतक थापा हाल माइक्रो बसका चालक रहेको स्थानीयले बताएका छन्।

थापाको हत्या के कारणले भएको हो? भन्नेबारे प्रहरीले अनुसन्धान सुरू गरेको जनाएको छ।

देवदह क्षेत्रमा यसअघि पनि युवासंघ, रुपन्देही अध्यक्ष दुर्गा तिवारी, युवा संघका कार्यकर्ता बलु पौडेल र तरुण दलका कार्यकर्ता अनिस पुरीको कुटपिट गरी हत्या भएको थियो ।