फ्राइडे रिलिज : ‘आप्पा’ भर्सेज ‘कीर्तिपुर’ कुन हेर्ने ?

१३ असार, काठमाडौ । असार फिल्म रिलिजको लागि अफ सिजन मानिन्छ । मानो रोपेर मुरी फलाउने महिनाको रुपमा परिचित असारमा धेरै मानिस कामकाजमा व्यस्त हुने भएकोले फिल्म रिलिज गर्दा व्यवसाय नहुने मान्यता रहदै आएको छ ।

यो वर्ष थोरै फिल्म निर्माण भएका छन् । गत वर्ष एक सातामै दुई तीन वटा फिल्म प्रर्दशन हुन्थ्यो भने यो वर्ष कुनै साता नेपाली फिल्म प्रर्दशनीमा नआउँदा विदेशी फिल्मले नै चित्त बुझाउन पर्ने भएको छ ।

त्यस मध्ये पनि कुनै फिल्म हलमा कहिले लाग्यो र कहिले उत्रियो पत्तो छैन । तर, असार १३ गते देखि दुई फिल्म ‘आप्पा’ र ‘कीर्तिपुर’ प्रर्दशनमा आएका छन् ।

‘आप्पा’

बाबुछोराबीचको सम्बन्धका अलवा पारिवारिक प्रेमकथामा बनेको फिल्म हो ‘आप्पा’ । दयाहाङ राई, सिद्धार्थराज तामाङ, एलोना काबो लेप्चा, तुलसी घिमिरे, अरुणा कार्की लगायतका कलाकारको मुख्य अभिनय रहेको फिल्म अनमोल गुरुङले निर्देशन गरेका हुन् ।

सिक्किम, दार्जलिङ लगायतका स्थानमा छायाँकन भएको फिल्म रुदेन सादा लेप्चाको निर्माणमा बनेको हो । फिल्मको बिहीबार राजधानीमा प्रिमियर समेत गरिएको थियो । प्रिमियरमा कलाकारकर्मी तथा रंगपत्रकारको बाक्लो उपस्थिती रह्यो । फिल्म हेर्ने धेरैले बाबु छोराबीचको कथा फिल्मले राम्रोसँग देखाएको प्रतिक्रिया दिए ।

‘कीर्तिपुर’

कीर्तिपुर :द लिजेन्ड अफ कीर्तिलक्ष्मी’ निर्माण भएको पाँच वर्षपछि दर्शकमाझ आएको हो । आउन लागेको हा । प्रदीप खड्गीको निर्देशन रहेको फिल्ममा नेपाल एकिकरणका अभियन्ता तत्कालिन राजा पृथ्वीनारायण शाहले एकीकरणको अभियानमा १८ औं शताब्दिमा कीर्तिपुरमा गरेको आक्रमणको विषयवस्तु समेटिएको छ ।

९० प्रतिशत भिएफएक्स प्रयोग गरिएको फिल्म साहित्यकार बासु पासाद्वारा लिखित ‘भैरवसिंह’ नामक उपन्यासमा आधारित छ । यशराज गराच, हिसिला महर्जन, मदनदास श्रेष्ठ, शुशिल राजोपाध्याय, लक्ष्मी गिरी, सुरविर पण्डित, विनेश श्रेष्ठ आदि कलाकारको अभिनय फिल्ममा देख्न सकिन्छ ।

अभिनेता यसराज गराजले पृथ्वीनारायण शाह तथा अभिनेत्री हिसिला महर्जनले कीर्तिलक्ष्मीको भूमिका निर्वाह गरेका छन् । फोकस पिक्चर्सको व्यानरमा निर्माण भएको चलचित्रको छायांकन काठमाडौं, भक्तपुर, नुवाकोट तथा गोर्खामा भएको हो ।

नयाँ पुस्तालाई इतिहास जान्न र बुझ्न भए पनि एकपटक ‘कीर्तिपुर’ हेर्नुपर्ने निर्देशक खड्गीको भनाई छ ।