प्रतिक्रियावादीहरुसँग साँठगाँठ गर्ने कांग्रेसको बानीले देश परिवर्तन हुन सकेन : प्रधानमन्त्री ओली

३ असार, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिक्रियावादीहरुसँग साँठगाँठ गर्ने कांग्रेसको पुरानै बानीले देश परिवर्तन हुन नसकेको आरोप लगाएका छन । ओलीले प्रतिपक्षी दल नेपाली कांग्रेस अति दक्षिणपन्थी बनेको आरोप लगाए ।

संसद अवरुद्ध गरेर विपक्षीले संसदको गरिमा घटाउने काम गरेको पनि उनले बताए । ठूलो बलिदानबाट प्राप्त भएको उपलब्धिको रक्षा गर्नु सबैको साझा दायित्व रहेको भन्दै उनले संसदको गरिमा घटाएर त्यो उपलब्धि रक्षा हुन नसक्ने बताए ।

अहिले सरकारको नेतृत्व गरिरहेको पार्टी फुत्त कतैबाट निस्किएर सरकारमा पुगेको नभई लामो उतारचढाव पार गर्दै आएको प्रधानमन्त्री ओलीको भनाई छ ।

मर्यादित प्रेस, प्रेस स्वतन्त्रता, मानवअधिकारको रक्षाका लागि अडिग रहेको भन्दै लोकतन्त्रको जगेर्नाका लागि सरकार कटिबद्द भएर लागेको बताए । प्रधानमन्त्री ओलीले लोकतन्तको आवरणभित्र बसेर विपक्षले लोकतन्त्रविरुद्ध नै षड्यन्त्र गरेको आरोप लगाए ।