पाल्पामा जंगली च्याउ खाँदा ६ जनाको मृत्यु

३१ जेठ, पाल्पा । पाल्पास्थित निस्दी गाउँपालिकामा जंगली च्याउ खाएर बिरामी परेकामध्ये ६ जनाको मृत्यु भएको छ । गत शुक्रबार च्याउ खाएर केही बिरामी भएका थिए ।

जंगली विषालु च्याउको तरकारी पकाएर खाएकामध्ये निस्दी– ३ सार्कीडाँडाका नौ वर्षीया निर्मला सिं ठुकरी चार वर्षीय विष्णु सिं ठकुुरी, सात वर्षीय सुमन सिं ठकुरी, निशा सिं ठकुरी, निरुता सिं ठकुरी र ४५ वर्षीय पुरन खाम्चाको निधन भएको संघीय सांसद दलबहादुर रानाले जानकारी दिए ।

बिरामीमध्ये निर्मलाको मध्यविन्दु अस्पताल नवलपरासी विष्णुको पुरानो मेडिकल कलेज भरतपुर तथा अन्यको काठमाडौंका विभिन्न अस्पतालमा निधन भएको हो । नजीकैको जङ्गलबाट खोजेर ल्याइएको च्याउ पकाएर खाएका सार्कीडाँडाका ११ जना बिरामी परेका थिए ।

बिरामीहरुको नवलपरासीको मध्यविन्दु अस्पताल, मनकामना अस्पताल तथा पुरानो मेडिकल कलेज भरतपुर, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंलगायत विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

बिरामी ८० वर्षीय प्रेम सिं ठकुरी उपचारपछि घर फर्केका छन् । अन्य बिरामी ३६ वर्षीया चनकुमारी खाम्चा, उनकी छोरी १५ वर्षीया विमला, ३० वर्षीया दानमाया सिं ठकुरी र धनकुमारी सिंको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।

पाल्पा सदरमुकाम तानसेनदेखि करीब ७० किमी पूर्व सार्कीडाडाँका विकटका चार परिवारका सदस्य बिरामी परेका हुन् । प्रतिनिधिसभा सदस्य रानाले गृह मन्त्रालयबाट मौखिक निर्णय गराई बिरामीको निःशुल्क स्वास्थ्योपचारको पहल भएको जानकारी दिए ।

बिरामी तथा ज्यान जानेको परिवारमा सहयोगका विषयमा छलफल तथा बिरामीको स्वास्थ्यावस्था सन्दर्भमा शुक्रबार कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलसँग छलफल हुने सांसद रानाले जानकारी दिए ।