नेकपा बैठकमा आज पनि सहमति जुटेन, सचिवालय बैठक बिनानिष्कर्ष सकियो

२२ जेठ, काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बुधबार पनि निष्कर्षविहीन भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच विवाद भएपछि बैठक बिनानिष्कर्ष स्थगित भएको हो ।

बैठकमा ओली र नेपाल आ-आफ्नो अडानका साथ प्रस्तुत भएका थिए । अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्डुबीच यसअघिनै ७७ जिल्ला इन्चार्ज र सह-इन्चार्जमा सहमति भएको थियो ।

बुधबारको बैठकमा पनि मन्त्री र सांसद भएका केन्द्रीय नेतालाई जिल्ला इन्चार्ज र सह-इन्चार्ज बनाउने प्रस्ताव ओलीले गरेका थिए । तर उक्त प्रस्तावलाई वरिष्ठ नेता नेपालले स्वीकार गर्न नसकिने बताए । नेता नेपालले दुईवटा जिम्मेवारी एकै व्यक्तिलाई दिन नहुने तर्क गरेपछि ओली र नेपालबीच सवाल जवाफ समेत भएको एक सचिवालय सदस्यले जानकारी दिए ।

वरिष्ठ नेता नेपालले असहमति जनाएपछि बैठकमा अध्यक्ष ओलीले ‘जनवर्गीय सङ्गठन र जिल्ला अध्यक्ष बनाउने बेलामा तपाई कहाँ जानुभएको थियो ? पहिलेको निर्णय किन मानेको ?’ भन्ने प्रश्न गरेको स्रोतको दाबी छ । ओली र नेपालबीच विवाद बढ्न थालेपछि बैठक बिहीबार बस्ने गरी स्थगित भएको छ । बैठक बिहीबार बिहान ९ बजे बालुवाटारमा बस्ने नेताहरूले जनाएका छन् ।