जनकपुरधाम उपमहानगरपालिकामा विवाद, जिम्मेवारीमुक्त गराउन उपप्रमुखको निवेदन

२४ जेठ, जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाकी उपप्रमुख रिता कुमारी मिश्रले आफूलाई दिइएको पदीय जिम्मेवारी पाएर पनि काम गर्न नपाएकोप्रति असन्तुष्टि जनाउँदै उक्त जिम्मेवारी फिर्ता गराउन निवेदन दिएकी छन् ।

बिहीबार उप–महानगरपालिकाका कार्यपालिका प्रमुख (नगर प्रमुख)लाई सम्बोधन गर्दै उपप्रमुख मिश्रले जिम्मेवारी पाएर पनि काम गर्न नपाएकोमा असन्तुष्टि जनाईन् ।

‘उप–महानगरपालिकाको कार्यपालिकाले निर्णय गरी म जनकपुरधाम उपमहानगरपालिकाको उप–मेयरलाई दिइएको तपशिल बमोजिमको समितिहरुको संयोजकमा जिम्मेवारी दिएकोमा उल्लेखित समितिहरुले मलाई कुनै पनि कार्यक्रमको जानकारी नगराई उल्लेखित समितिहरुको कार्यक्रम सञ्चालन भइरहेकोले उक्त पदहरुको जिम्मेवारी फिर्ताको लागि श्री कार्यपालिका प्रमुखसमक्ष यो निवेदन पेश गरेको छु,’ मिश्रले जिम्मेवारी फिर्ता गराउन माग गर्दै निवेदनमा भनेकी छन्, ‘उल्लेखित जिम्मेवारीहरुबाट मलाई हटाई अरु कुनै कार्यपालिका सदस्यलाई नियुक्त गरिदिनु हुन यो निवेदन पेश गरेको छु ।’

उप–प्रमुख मिश्रले एक्सन कमिटीको संयोजक, लामखुट्टे नियन्त्रण कमिटीको संयोजक तथा रङ पेन्ट वितरणको संयोजक आफूलाई तोकिएपनि त्यससम्बन्धी कार्यको जानकारी आफूले नपाएको भन्दै असन्तुष्टि जनाएकी छन् ।