गौतमबुद्ध विमानस्थलबाट पेस्तोल र १६ राउण्ड गोलीसहित भारतीय नागरिक पक्राउ

३ असार, भैरहवा । रुपन्देहीको भैरहवा स्थित गौतमबुद्ध विमानस्थलबाट एउटा पेस्तोल र १६ राउण्ड गोलीसहित एक भारतीय नागरिक पक्राउ परेका छन ।

पक्राउ पर्नेमा भारतको लखनउका ५० वर्षीया उमेश शुक्ला रहेका छन् । प्रहरीका अनुसार उनी आज दिउँसो बुद्ध एयरको विमानमार्फत गौतमबुद्द विमानस्थल हुँदै पोखरा उड्न लागेका थिए ।

लगेजको शुरक्षा चेकजाँचका क्रममा एक्सरेमा शंकास्पद दृश्य देखिएपछि खनतलासी गर्दा उनीसंग पेस्तोल भेटिएको हो ।

उनले त्यो हतियार लाइसेन्स प्राप्त भएको दाबी गरेका छन् । तर, प्रहरीसमक्ष लाइसेन्स देखाउन सकेका छैनन् । थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी हृदय थापाले बुलेटिन नेपाललाई जानकारी दिए ।