गरीबी पाँच वर्षमा शून्यमा झार्छौं : गृहमन्त्री थापा

३१ जेठ, चितवन । गृहमन्त्री रामबहादुर थापाले नेपालको गरीबी पाँच वर्षमा शून्यमा झार्ने गरी सरकारले काम गरिरहेको बताएका छन् ।

पूर्वी चितवनको रत्ननगरमा शुक्रबार आयोजित वृत्ति परामर्श तथा रोजगार मेलाको उद्घाटन गर्दै उनले सरकारले अहिलेको १८ प्रतिशत गरीबीलाई शून्यमा झार्ने लक्ष्यकासाथ काम अघि बढाइरहेको बताए ।

यसका लागि औद्योगिक क्षेत्रको विकास आवश्यक रहेको उनको भनाइ थियो । जसअनुसार प्रत्येक प्रदेशमा एक औद्योगिक क्षेत्र निर्माण गर्न लागिएको उनले जानकारी दिए ।

रत्ननगर नगरपालिकाले आयोजना गरेको सो कार्यक्रममा गृहमन्त्री थापाले विकास र समृद्धिका लागि दक्ष जनशक्ति आवश्यक रहेको उल्लेख गरे । विकास र समृद्धिका लागि दक्ष जनशक्ति र जनशक्तिका लागि प्राविधिक र व्यावसायिक शिक्षा आवश्यक रहेकोमा उनको जोड थियो ।

गृहमन्त्री थापाले कृषिको औद्योगिकीकरण गर्नुपर्ने आवश्यकता औल्याए । उनले भने, ‘कृषिलाई औद्योगिकीकरण गरेर रोजगारीको सिर्जना गर्नुपर्छ ।’

अहिले श्रम बजारमा रहेका श्रमिकमा दक्षताको अभावका कारण उनीहरुको कमाइले घर खर्चसमेत चलाउन असहज भएको उनको भनाइ थियो । स्वदेशमा रोजगार दिने उद्योग र उद्योगीको सुरक्षाका लागि सरकार सधैँ तयार रहेको मन्त्री थापाले बताए ।