खजुरामा अत्याधुनिक सुविधायुक्त प्रशासनिक भवनसंगै ‘फन पार्क’ पनि बन्ने

२४ जेठ, खजुरा । बाँकेको खजुरा गाउँपालिकाले अत्याधुनिक सुविधायुक्त प्रशासनिक भवनका साथै फनपार्क निर्माण गर्ने भएको छ ।

हाल रहेको गाउँपालिकाको प्रशासनिक केन्द्र नयाँ ठाउँमा सार्ने निर्णयसंगै यि दुबै नयाँ योजनाको प्रारम्भीक काम शुरु भएको हो । गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिका अनुसार शुक्रबार निर्माणाधिन डिपिआरको बारेमा पहिलो छलफल भएको छ ।

प्रशासनिक भवन र फनपार्क दुबै योजनाको डिपिआरमा थप छलफल गरेर अन्तिम टुङ्गो लगाउने अध्यक्ष कक्षपतिले जानकारी दिए ।

 

गाउँपालिका र फनपार्कले छ बिगाहक्षेत्र ओगट्ने छ । दुई बिगाहमा प्रशासनिक भवन र बाँकीक्षेत्रमा फनपार्क निर्माण गरिनेछ । प्रशासनिक भवन तीन तलाको र लागत दुई करोड हुने अनुमान छ ।

प्राथमिकतामा रहेको प्रशासनिक भवनको निर्माण कार्य आगामी आर्थिक वर्षमा हुनेछ । उक्त भवन निर्माण भइसकेपछि मात्र फनपार्क निर्माणको काम शुरु गरिने अध्यक्ष कक्षपतिले जानकारी दिए ।

 

शहरीकरण हुँदै गएको खजुराका हरेक उमेर समूहका मानिसहरुलाई साँझ, बिहान र बिदाका दिनमा टहल्नेका लागि फनपार्क उपयुक्त हुनेछ । बिभिन्न मनोरन्जनात्मक सामाग्री सहित बिभिन्नथरीका रुखहरु उक्त फनपार्कमा लगाउने योजना रहेको गाउँपालिकाले जानकारी दिएको छ ।

त्यसका लागि प्रदेश, केन्द्र र दाताहरुको पनि खोजी गर्ने गाउँपालिकाको योजना छ । यि दुई योजनाको डिपिआर स्टेन्थ डेभलपर्स प्रालि रहेको छ । ईन्जिनियर बिबेक लामिछानेको नेतृत्वमा नविन घिसिङ्ग, जगननाथ अमानी समूहमा रहेका छन् ।