आज असार १५ : बिशेष दिन बिशेष महत्त्व, किसानहरूमा निराशा बढ्दै

रमेश पराजुली 
१५ असार, बुटवल  । आज असार १५ ‘मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्य दिन । यस दिनको बिशेष र छुट्टै महत्व रहेको छ नेपाल सरकारले पनि आजको दिनलाई धान दिवस संगै रोपाईं जात्राका रुपमा मनाउने गर्दछ ।

 

आजको दिन खेतमा धान रोपाईं संगै आपसमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्ने तथा दही चिउरा खाने गरिन्छ । चिउरा धानबाट तयार गरिने परिकार अर्थात नेपालीको प्रमुख खाद्यान्न बाली धानको महिमा र महत्व मुलुकको अर्थतन्त्रसँग पनि जोडिएको छ । कामको चटारोले थकित भएका किसानलाई दही र चिउराले शक्ति र शीतलता प्राप्त हुने विश्वास रही आएको छ । खेतीपाती बाहेक अन्य पेसा र व्यवसाय गरेर बसेकाहरुले पनि आज दही चिउरा खाने र हिलो छ्यापाछ्याप गरी असार १५ मनाउँछन् ।

कृषि प्रधान देश नेपालमा हरेक वर्षको असार १५ गते दही चिउरा खाने चलन छ । कृषकहरु हिलोमा रोपाईं गरि आफ्ना दु:ख पीडा भुलेर रमाइलो गर्दै दही चिउरा खाने पुरानो प्रचलन हो । धार्मिक मान्यता नभए पनि परम्परागत रुपमै दही चिउरा खाने गरिन्छ । हिलोमा काम गर्दा चिसो लाग्ने हुनाले चिसो निराकरणका लागि दही महत्वपुर्ण हुने चिकित्सकहरुको भनाइ छ ।

तर पछिल्लो समय धेरै किसानहरु कृषी पेशाबाट खुशी हुन सकिरहेका छैनन् । यो अत्यन्तै दु:खको कुरा हो । आफ्नो देश भित्रै केहि गर्छु आफ्नै देशमा पसिना बगाएर सुन फलाउछु भनेर लागेक धेरै युवाहरु यो पेशानै छाडेर निराश हुँदै बिदेशी भूमिमा पसिना बगाउन जानको लागि बाध्य भएका छन् । कृषी प्रधान देश नेपाल यहाँका धेरै मानिसहरुले अहिले पनि कृषी पेशानै गरिरहेका छन् तरपनि सरकारले किसानहरुको आत्मबल बढाउने गरि कार्यक्रम ल्याउन नसकेको हो या अरु कारणले गर्दा किसानहरुमा निराशा थपिएको हो ? सम्बन्धित पक्षले यो कुरा राम्रो सँग बुज्नु जरुरी छ ।

देशमा ३/३ ओटा सरकार बनेका छन् स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकार यी तिन वटै सरकारले कृषी क्षेत्रको बिकासका लागी थोरै थोरै भएपनि काम गर्ने हो भने अमिलो मन बनाउंदै साहुसँग चर्को ब्याजदरमा ऋण खोजि घर परिवार र स्वर्गजस्तो जन्म भुमि छोडेर बिदेशिएका धेरै युवाहरुलाई नेपाल फर्काउन सकिन्छ । नेपालमै रोजगारी सिर्जना गर्न सकिन्छ । यसमा कसैको २ मत छैन । तर सरकार र यससँग सम्बन्धित पक्ष आजैदेखि गम्भीर भएर लाग्नुपर्दछ ।

नेपालको अर्थतन्त्रमा धानको ठूलो महत्व छ । धानको उत्पादन घट्दा कुल गार्हस्थ उत्पादन (जिडिपी) मा असर पर्छ भने उत्पादन बढ्दा जिडिपी माथि उक्लन्छ । सरकारले धान उत्पादनलाई महत्व दिएको छ । कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान झण्डै २८ प्रतिशतमध्ये धानको ११ प्रतिशत योगदान छ । यस आर्थिक वर्ष २०७५/७६ को १० महीनामा रु २७ अर्ब ९० करोड बराबरको चामल नेपालमा आयात भइसकेको छ ।

 

जलवायु परिवर्तन, गुणस्तरीय मल बिउको अभाब, पुरानो कृषि प्रणाली, युवाहरूको बढ्दो बिदेश पलायन, उत्पादन गरेका बस्तुले राम्रो मूल्य नपाउनु, सिंचाइको असुबिधा अादी कारणहरूले किसानहरू चिन्तित बनेको देखिन्छ । सरकारले पनि कृषकहरू लाई बिशेष सहयोग गर्नुपर्ने हो तर खासै सहयोग गरेको पाइदैन । जलस्रोतको दोस्रो धनी देश हो नेपाल तरपनी यहाँका धेरै किसानहरू आकासे पानीको भर पर्नुपर्ने बाध्यता छ । यो जस्तो दुखको कुरा अरू के होला ? खाद्य सुरक्षा र खाद्यान्न माथिको परनिर्भरता हटाउन धान लगायतका खाद्य बालिको उत्पादन बढाउनुको विकल्प छैन ।

कागजमा मात्रै सिमित हुने निति, कार्यक्रम तथा योजनाहरूलाई कार्यनयन मा ल्याउन सके मात्रै साच्चै नेपाललाई धानमा आत्मनिर्भर बनाउन सकिनेछ । कागज र भाषणमा मात्रै सिमित गर्नुभन्दा पनी कृषी तालिम, ठाउँ अनुसार मल बिउको उपलब्धता, उपयुक्त कृषि सामाग्री को ब्यवस्था गराई सिंचाइको सुबिधा पुर्याउन सकियो भने कृषि प्रधान देश नेपालमा बिदेशी भुमिको खाद्यान्न आवश्यक पर्ने छैन । यस विषयमा सम्पूर्ण कृषि सङ्ग सम्बन्धित ब्यक्तिहरू, कृषि विभाग, सरोकारवाला, राजनीतिक दल र सम्पूर्ण कृषकहरूको समयमै ध्यान पुगोस् ।

 

युवा जनशक्ति पलायन, सिमित व्यक्तिका हातमा धेरै जमिन, जग्गाको खण्डीकरण, खेतीयोग्य भूमि घडेरीमा परिणत गर्नु, आकासे पानीमा निर्भर, सिँचाइको व्यवस्था नहुनु, उन्नत जातका बीउवीजन, मलखाद तथा अनुदानको राम्रो व्यवस्था नहुँदा धानको उत्पादनमा असर परेको विज्ञहरुले बताएका छन् ।

नेपालमा कुल खेतीयोग्य जमीनको क्षेत्रफल ३० लाख ९१ हजार हेक्टर रहेको छ । कूल खेतीयोग्य जमीनमध्ये लगभग ५० प्रतिशत जमीनमा धानखेती हुन्छ । अधिकांश जमीन आकासे सिँचाइमा निर्भर छ । धान लगाउने मौसम (असार–साउन) मा वर्षा भएन भने सिफारिस भएजति जमीनमा धान रोपाइँ हुन सक्दैन । नेपालका लागि झण्डै धानका ८० जात सिफारिस भएको छ । सिँचाइ मन्त्रालयको तथ्याङ्कअनुसार ६३ प्रतिशत जमीनमा सिँचाइ सुविधा पुग्न सकेको छैन ।

प्रत्येक वर्ष धानखेती गर्ने जमीन घटिरेहेको छ । २०६०/६१ मा १५ लाख ५९ हजार ४३६ हेक्टरमा धानखेती भएको थियो । १५ वर्षपछि (२०७४/७५) मा १४ लाख ६९ हजार ५४५ हेक्टर जमीनमा सीमित हुन पुग्यो । कृषि तथा पशुपक्षी विकास मन्त्रालयको तथ्याङ्कले धानखेती गर्ने क्षेत्रफल घटे पनि उत्पादन भने बढेको देखाएको छ । कृषि विभागको तथ्याङ्क अनुसार १० लाख ३० हजार हेक्टर जमीन बाँझो छ ।बिदेशी भुमिमा पसिना बगाउनु भन्दा छिट्टैनै बिदेश पलायन रोकि आफ्नै भुमिमा काम गर्नु नेपाली युवा शक्तिको धर्म हुनेछ ।

आज सरकारले देशका धेरै ठाउँमा विभिन्न कार्यक्रमहरूको आयोजना गरेको छ । नेताहरू पनि हेलिकप्टर चार्टर गरेरै भएपनि विभिन्न कार्यक्रममा पुगेर कृषि क्रान्ति गर्छौं भन्दै चर्को आवाजमा सकि नसकी भाषण गर्छन । गएका वर्षहरूमा पनि सुनेकै कुरा हो यसलाई के नयाँ मान्नु र ? वर्षको १ दिन एसिवाला हलमा बसेर कृषि क्रान्ति गर्छौं भन्दै गमलामा धान रोपी चर्को आवाज बनाएर चिच्याउँदैमा केही हुनेवाला छैन । सकिन्छ भने कृषकको खेतबारीमै पुगेर उनिहरूका समस्या पहिचान गरि सहयोग गरौँ र निराश भएका किसानहरूको आत्मबल बढाउँ ।

सबै पक्ष मिलेर अगाडि बढ्ने हो भने आफ्नै देशमा सुन फलाउन सकिन्छ यसमा कसैको दुई मत छैन । निराश भएर विदेशीएका युवा शक्तिहरूलाई आफ्नै देशमा फर्किएर काम गर्ने वातावरण सिर्जना गरौँ । कृषिको महत्त्वको विषयमा सबैले बुझौं र बुझाउँ । असार १५ राष्ट्रिय धान दिवस सङ्गै दहि चिउरा खाने बिशेष दिनको तपाईंहरू सबैलाई शुभकामना । जय युवा । जय देश ।