अर्घाखाँचीमा श्रीमानको कुटाइबाट एक महिलाको ज्यान गयो

२५ जेठ, अर्घाखाँची । अर्घाखाँचीमा श्रीमानको कुटाइबाट एक महिलाको ज्यान गएको छ । जिल्लाको शीतगंगा नगरपालिका–१, सुवर्णखालमा श्रीमानको कुटपिटबाट एक महिलाकाे ज्यान गएको हो ।

ज्यान जानेमा शीतगंगा–१, मन्द्रे घर्तीसाराकी ३४ वर्षीया बसन्ता खत्रीको रहेको प्रहरीले जनाएको छ । अत्यधिक रक्सी पिएका ३५ वर्षीय श्रीमान विष्णु खत्रीले सामान्य निहुँमा मुखमा प्रहार गरी घरको झ्यालमा टाउको ठोक्काइदिएपछि नाक र कानबाट रगत बगेर मृत्युकाे प्रहरीले जनाएको छ ।

बसन्ताकाे मृत्यु भएपछि माइती पक्षले प्रहरीमा उजुरी दिएका थिए ।

विष्णुले श्रीमती घरकै दलिनमा झुन्डिएर मृत्यु भएको भनी मृतकको घाटीमा पासो देखाउँदै आफूले बचाउन पासो काटिदिएको प्रहरीलाई झूटाे बयान दिएका थिए ।

शवको पोस्टमार्टमको रिपोर्टले कुटपिटबाटै मृत्यु भएको देखाएपछि प्रहरीले फेरि सोधपुछ गर्दा आराेपित विष्णुले आफैँले कुटपिट गरेर मृत्यु भएपछि घाँटीमा पासो लगाइदिएको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

आफूले मुक्का प्रहार गर्दै झ्यालमा टाउको ठोक्काएर नाक र कानबाट रगत बगेपछि श्रीमतीको मृत्यु भएको उनले स्विकार गरेपछि अहिले उनी प्रहरी नियन्त्रणमा रहेका छन । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।