सावधान ! खानाका नाममा विष त खाइरहेका छैनौं ?

समयसँगै मानिसको जीवनशैली र खानपानसमेत बदलिएको छ । मैदाका परिकार, बजारीया खाजा (फास्ट फुड), मासु, जुस, कोल्ड ड्रिंग्सलगायतका खानेकुरा धेरैको पहुँचमा छ । पहुँचमा नहुनेले देखाउनकै लागि भए पनि यस्ता खानेकुरा खाने गर्छन् । जसका कारण, धेरै नेपाली रोगी छन् ।

धुवाँ, धुलो, अस्वस्थकर खानपान, धूमपान, मद्यपान, नियमित जंक फुड, सुर्तीजन्य पदार्थ एवं अत्यधिक माछामासु सेवन र शारीरिक व्यायाम अभावका कारण क्यान्सर, मुटु रोग, मिर्गाैला फेल जस्ता नसर्ने तर घातक रोगले आक्रमण गर्छन् । यसकारण, बर्सेनि बिरामीको संख्या बढ्दै गएको चिकित्सक बताउँछन् ।

पछिल्लो समय बालबालिकादेखि वृद्धवृद्धासमेत बजारीया खानामा रमाउन थालेका छन् । सहरमा मात्रै होइन, ग्रामीण भेगका मानिसले पनि जंक फुड नै उपभोग गरिरहेका छन् । अभिभावकले छोरीछोरीलाई विद्यालय पठाउँदासमेत जंक फुड नै रोज्ने गरेका छन् । सजिलोका लागि रोजिने जंक फुडका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर परिरहेको छ ।

सीता घिमिरेकी ४ वर्षीया छोरी केशिका चाउचाउ, बिस्कुट, चाउनमिनलगायतका जंक फुड रोज्छिन् । ‘अरुको देखासिकीले पनि छोरीले जंक फुडको माग गर्छिन् । नदिए झगडा गर्छिन् । बच्चाको ढिपीका अघि केही लाग्दो रहेनछ,’ सीता भन्छिन्, ‘आफूलाई पनि त्यही सजिलो लाग्ने, तर जंक फुडले स्वास्थ्यमा असर गरिरहेकै छ ।’

जंक फुडमा अखाद्य पदार्थको मात्रा बढी हुने भएकोले यसबाट बालबालिकालाई टाढा राख्नुपर्ने बताउँछन्, वीर अस्पतालका मेडिसिन विभागका प्रमुख प्रा.डा. विधाननिधि पौडेल । बालबालिका मात्रै होइन, युवा तथा वृद्धवृद्धा पनि बजारकै खानेकुरा बढी रुचाउन थालेका छन् ।

होटलका अस्वस्थ खानेकुरा, सडकपेटीमा राखिएका चटपटे, पानीपुरी, तरकारी र फलफूलका कारण बिरामीको संख्या बढेको पौडेलको भनाइ छ ।
घिउतेलमा तारेका–भुटेका खाद्य परिकार मानिसको जिब्रोलाई अति नै मन पर्छ । हेर्दा सर्लक्क परेका फलफूल, तरकारी, मैदाको परिकार, म्याद गुज्रेका र मिसावटयुक्त खाद्य परिकार प्रयोग बढ्दै जाँदा मानिसमा विभिन्न रोग देखा परेको पौडेलको भनाइ छ ।

पौडेलका अनुसार यस्ता परिकारले सबैभन्दा बढी पेटमा समस्या देखिन्छ । अधिकांश नेपालीले खानासँगै गालेको अचार तथा पिरो खाने र धेरै मसलेदार खाना खाँदा गर्दा ग्यास्ट्रिक हुन्छ । अधिकांश बिरामी ग्यास्ट्रिकबाट पीडित रहेको पौडेल बताउँछन् ।

पौडेल भन्छन्, ‘व्यस्त जीवन बिताउनेहरू, मानसिक तनाव लिनेहरू, मनोरञ्जन नगर्नेहरू, भय, चिन्ता, शोक उदासीनता र अनिद्राका रोगी, शारीरिक श्रम वा व्यायाम नगर्नेहरू पनि ग्यास्ट्रिकको सिकार हुन्छन् ।’

भोक लागेको बेलामा नखाने, ज्यादा खाने, खाना निश्चित समयमा नखाने, पचाउन कठिन हुने खाना खाएपछि तत्कालै सुत्ने र शारीरिक श्रम गरेलगत्तै खानेहरूमा ग्यास्ट्रिकको समस्या देखिएको छ ।

बिहान र बेलुका नै खाना नखान चिकित्सकहरू सल्लाह दिन्छन् । सकेसम्म बेलुकाको समयमा हल्का चिज खानुपर्दछ । त्यस्तै, हरेक दिन आधा घण्टा शारीरिक व्यायाम गर्दा शरीरलाई स्वस्थ्य राख्न मद्दत पुग्छ ।

सागसब्जीलाई सोझै सलादका रूपमा प्रयोग नगरौं

मानिसहरू खाना खाने बेलामा होस् या अन्य समयमा सलादका रूपमा काँचो सागसब्जी प्रयोग गर्छन् । तर, किनेर ल्याइएको सागसब्जीलाई सोझै सलादका रूपमा प्रयोग नगर्न चिकित्सकहरू सुझाव दिन्छन् । यस्ता सागसब्जीमा विषादी तथा कीटाणुहरू सक्रिय हुनाले सागसब्जीलाई सलादका रूपमा प्रयोग गर्नुपूर्व तातोपानीले पखालेर प्रयोग गर्नुपर्दछ ।

खाद्यान्न र तरकारी शुद्ध, ताजा तथा विषादीमुक्त हुनुपर्ने चिकित्सकहरू बताउँछन् । गर्मीमा माछामासुभन्दा सागसब्जी उपयुक्त हुने चिकित्सकहरु बताउँछन् ।

पौडेल भन्छन्, ‘गर्मीको समयमा तरकारीलगायत खानालाई ताजा राख्न फ्रिजमा राख्छन् । बजारबाट किनेर ल्याएको तरकारीमा विषादीको प्रयोग अवश्य हुन्छ । तर, ल्याउनेबित्तिकै फ्रिजमा राख्दा विषादी नष्ट हुँदैन ।

त्यसैले तरकारीलाई केही ओइलाएर मात्रै फ्रिजमा राख्नुपर्छ ।’ गर्मी याममा अस्वस्थकर खानपिनले झाडापखाला, टाइफाइट, ज्वरो, हेपटाइटिस ‘बी’लगायत पानीबाट सर्ने रोग लाग्छ । त्यसैले खानपिनमा विशेष ध्यान दिन चिकित्सकहरू सल्लाह दिन्छन् ।

यो समाचार ज्योति तिलाज्जलीले सिलापत्र डट कमको लागि लेखेकी हुन ।