सन्दर्भ गणतन्त्र दिवस : सम्बृद्धिको गोरेटो कोरिदै

निरा गौतम
रासस
१५ जेठ, रुपन्देही । आज जेठ १५ गणतन्त्र दिवस अर्थात नेपालको राजनितिक इतिहासमा एउटा युगान्तकारी दिन ।
जनआन्दोलन २०६२ /०६३ को जगमा गणतन्त्र घोषणा भएको एतिहासिक दिनको स्मरण गर्दै हरेक वर्ष जेष्ठ १५ गते देशभर विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइन्छ ।

आजको दिन १० वर्षे सशस्त्र जनयुद्ध र १९ दिने जनआन्दोलनको बलमा स्थापित जहानियाँ राजतन्त्र अन्त्य भएर मुलुक गणतन्त्रमय बनेको थियो ।

नयाँ संविधान अनुसार अहिले मुलुकमा तीन तहका सरकार गठन भएका छन् । “सम्मृद्ध नेपाल सुखी नेपाली” भन्ने नारा अगाडी सारेर संघीय सरकारले विकास र सम्मृद्धिको काम अगाडी बढाएको छ । अहिले मलुकमा तीन तहका सरकार स्थापित भएका छन् । प्रदेश र स्थानीय तहमा पनि विकास निर्माणले गती लिएको छ । जनताको शासन जनताका प्रतिनिधिले गर्ने शासन व्यवस्थाको शुरुवात हुनु नै गणतन्त्रको सफलता हो ।

‘मुलुकमा गणतन्त्र घोषणा भएपनि २ वर्षअघिसम्म जनताले गणतन्त्रको अनुभुति गर्न पाएनन् । तर जब मुलुक संघीय संरचनामा अगाडी बढ्यो अहिले विस्तारै जनताले त्यसको अनुभुति गर्दैछन’ भन्छन, अधिबक्ता यमलाल खनाल । अधिबक्ता खनाल भन्छन – ‘शुरुमा ऐन कानूनको अभाव भयो अहिले विस्तारै तीनै तहका सरकारले कानून निर्माण गरेर विकास र सम्बृद्धिको गोरेटो कोरेका छन् ।’

कानून बिहीन अवस्थामा पनि संघियता कार्यान्वयन हुनु सकारात्मक पक्ष भएको उनको भनाइ छ । मुलुक गरिबी र अभावबाट अगाडी बढेकाले तुरुन्तै सबै परिवर्तन हुने अवस्था नभएपनि कानून निर्माणसंगै अब जनताले परिवर्तनको महशुस गर्ने वातावरण बन्दै गएको अधिबक्ता खनालको भनाई छ । ‘ अहिले नागरिकहरुले गणतन्त्रमा पाउनुपर्ने अधिकार स्पष्ट छन् । तीनै तहका कानून बन्दै छन्, केहि वर्षमै जनताले आशा र भरोसा गरे अनुसारको वातावरण मुलुकमा तयार हुन्छ,लेखक तथा विश्लेषक ऋषि आजाद भन्छन – गत वर्षसम्म संघीयता र गणतन्त्रप्रति कतिपयले आशंका गर्थे,अहिले आशंका मेटिदै गएका छन्,गणतन्त्रमा विश्वास बढ्दै गएको छ ।

मुलुकको सम्बृद्धिका लागि विकास र योजनाहरुको समन्वयात्मक ढाँचा तयार गरी संघीय सरकारले प्रदेश र स्थानीय तहसंग समन्वय गरेर अगाढि बढ्नुपर्छ भन्ने उनको सुझाव छ । भ्रष्टाचार नियन्त्रणका लागि प्रष्ट नीति र पारदर्शिता हुन जरुरी छ , अर्का अधिवक्त हेमा न्यौपाने भन्छन– विकास निर्माणका सबै कामको अनुगमन गर्नुपर्छ । ’

जनताका अधिकार स्थापित गर्न सरकार गम्भिर हुनुपर्ने तथा राजनितिक नेतृत्व र नागरिक समाज सबैले आ आफ्नो ठाउँबाट भुमिका खेल्नुपर्ने उनको भनाइ छ । देशमा आर्थिक विकासबिना सम्बृद्धि सम्भव छैन । त्यसका लागि राम्रा नीति र योजना बनाएर प्रभावकारी कार्यान्वयन गर्नुपर्छ । “नयाँ अभ्यास भएकाले तीन तहका सरकारबीच समन्वयको अभाव छ, राज्य संरचनाको प्रभावकारी सञ्चालनका लागि तीन तह वीचको अन्तरसम्वन्धलाई प्रभावकारी बनाउनु पर्ने अधिवक्ता न्यौपानेको भनाई छ ।

राजतन्त्र फालेर मुलुक गणतन्त्रमय हुनु राजनीतिका दृष्टिले महत्वपूर्ण उपलब्धी हो । तर, जनस्तरमा परिवर्तनको अनुभूति हुन जरुरी छ भन्छन मानव अधिकार तथा शान्ति समाजका बरिष्ट उपसभापति गोविन्द खनाल । हिजोका दिनमा जनतालाई देखाएको विकास र सम्बृद्धिको सपना पुरा नहुंदा सम्म गणतन्त्र संस्थागत हुन नसक्ने खनालको भनाइ छ ।“ हामिले राजनीतिक र नागरिक अधिकारको पूर्णरुपमा सदुपयोग गर्न पायौ तर आर्थिक सामाजिक र साँस्कृतिक अधिकार प्रयोग गर्न पाएनौ जसले गर्दा हाम्रो जीवनस्तर परिवर्तन हुन सकेन ” उनि भन्छन ।
सरकारले मुलुकमा दण्डहिनता र संक्रमणकालिन न्यायको व्यस्थापन गर्न नसक्दा नागरिकको राज्य व्यवस्थाप्रति नै नकारात्मक दृष्टिकोण बन्न थालेकाले गणतन्त्रका उपलब्धिको रक्षा गर्नतर्फ सरकार लाग्नुपर्ने उनको सुझाव छ । ‘ संघियतालाई सफल बनाउनु अहिलेको आवश्यकता हो, ’ खनाल भन्छन – गणतन्त्र प्राप्तिप्रति जनताले गर्ब गर्ने वातावरण बनाउनुपर्छ ’ ।

पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष डी. आर घिमिरेका अनुसार गणतन्त्रको मुख्य उपलब्धि नै संघियता हो । संघियताकै कारण अहिले अहिले गाउँ गाउँमा सिंहदरबार पुगेको छ । यसको उपलब्धि जोगाउन तल्लो तहका सरकारले जनस्तरमा सरल ढंगले सेवा प्रबाह गर्न जरुरी छ । ‘सरकार भन्ने शब्दले जनप्रतिनिधिलाई हामी माथि हौ भन्ने मनोविज्ञान तयार भएको छ ।

जनतासंग नजिकको सम्बन्ध बनाउन र सहजीकरण गर्न नसक्दा जनताले गुनासो गर्ने अवस्था आएको छ । पत्रकार घिमिरे भन्छन– ‘जनताको सुझाव लिएर काम गर्ने र आफुलाई पनि रुपान्तरण गरेर अगाडी बढ्नुपर्छ, होइन भने जनताले परिवर्तनको अनुभुति गर्न सक्दैनन ।’