परोपकार र सदभावको अक्षय तृतीया

ज्यो. चक्रपाणी डुम्रे ( शास्त्री)
बैशाख महिनाको शुक्ल पक्षको तृतीया तिथिलाई नै
अक्षय तृतीया भनिन्छ ।

अक्षयको अर्थ हुन्छ कहिल्यै क्षय नभएर स्थायी रहने । यस दिन सातु र सर्वत दान गर्ने प्रचलन छ । दालचिनी ल्वाङ सुकुमेल अलैंची मह चिनी सख्खर र मिस्रीमध्ये एक चिज लगाई सर्बतसँगै र जौको सातु दान गर्ने चलन छ ।

आज बुढाबुढीलाई छाता लौरो र कपडाको जुत्ता दान गर्ने तथा गच्छे भए गाई जमिन अन्न र सुन पनि सत्पात्रलाई दान दिइने गरिन्छ । यसै दिन शुभ होस् राम्रो फल परिणाम प्राप्त होस् भन्नका हेतु नयाँ कार्यको शुभारम्भ गर्ने पनि चलन छ अथवा अन्य कुनै पनि शुभ वा मांगलिक कार्य यसै दिन सम्पन्न गर्न सकिन्छ ।

अक्षय फल प्राप्ति होस् भन्ने कामनाका साथ यस तिथिमा पितृतर्पण गरिन्छ ।श्रीकृष्णले पनि यस तिथिलाई परम पुण्यमय मान्नु भएको छ । यस दिन मध्याह्नभन्दा पहिले नै स्नान, जप, तप, होम, स्वाध्याय, पितृ-तर्पण तथा दान
आदि संपन्न गर्ने महाभाग व्यक्तित्वले अक्षय पुण्यफलको भागी हुने अवसर प्राप्त गर्दछ ।

पौराणिक कथाअनुसार विष्णुले परशुराम अवतार लिएकाले यस दिनलाई परशुराम जयन्तीका रुपमा पनि मनाइन्छ । परशुरामलाई विष्णुका दशावतारमध्ये एक मानिन्छ । परशुराम चिरन्जीवी छन् ।उनको आयुको क्षय भएन त्यसैले यस तिथिलाई चिरन्जीवी तिथि पनि भनिन्छ ।

चार युगहरूमा सत्य युग र त्रेता युगको प्रारम्भ यसै तृतीया तिथिबाट भएको हो । यसकारणले यस तिथिलाई ‘युगादितिथि’ पनि भनिन्छ । चार धामहरूमध्ये एक बद्रीनाथ धामको ढोका यसै दिन अर्थात अक्षय तृतीय तिथिकै दिन खोलिन्छ । भनिन्छ । यस शुभ तिथिमा गरिएका दान पूजन हवन दक्षिणा या कुनै पुण्य कार्य अक्षय फल प्रदान गर्ने किसिमको हुन्छ । यो एक स्वयं सिद्ध मुहूर्त हो ।

यो कुनैपनि शुभ कार्य गर्नका लागि सबभन्दा राम्रो तिथि हो । वेदव्यासले यसै दिन महाभारतको रचना प्रारम्भ गरेका थिए । भगवान नरनारायण हयगृव एवं परशुरामको जन्म यसै तिथिमा भएको थियो । लोकमान्यता छ कि अक्षय तृतीयाका दिन रोहिणी नक्षत्र परेन भने दुष्टहरूको
बलबृद्धि हुन्छ । यस दिन जलले भरिएका कलश जूत्ता गाई भूमि स्वर्णपात्रको दान गर्नु पर्छ । यसै दिन कैलाशवासी महादेव र हिमालयकी छोरी पार्वतीको विवाह भएको विश्वास गरिन्छ ।

हिन्दुशास्त्रहरूका अनुसार वर्षभरीमा कैंयौं विशेष योगहरू
पर्छन । ती मध्ये एउटा महायोग एव स्वयं सिद्ध मुहूर्त ‘अक्षय तृतीया’ हो । यो महायोग वर्षमा केवल एक
पटक मात्र पर्दछ । ज्योतिषहरूका अनुसार यस दिनमा
गरिएका सबै सत्कर्महरूको अक्षय पुण्य प्राप्त हुन्छ ।
वर्षको सबभन्दा पवित्र दिन हुनाले अक्षय तृतीयालाई
‘बिघ्नविनाशक दिन’ पनि भनिन्छ । गर्मी महिनाको
यस दिन भगवानको पूजा, आराधना, दान गर्ने र
सातुसर्वत खुवाउने, खानेपानीको व्यवस्था गर्नेजस्ता
काम सुस्वास्थ्य र परोपकारका दृष्टिबाट उपयोगी र
महत्वपूर्ण मानिन्छ ।

अत: हाम्रा हरेक पर्व भित्र कुनै न कुनै बैज्ञानिक रहस्य रहेकै हुन्छ । आपसी सद्भाव , सामाजिक दायित्व , परोपकारको भावना लगाएत पारस्परिक भावना जोडिएको पर्व लाई आत्मसात गरौं । पर्वको महत्त्व बुझौं र बुझाउदै अघि बढ्ने हो भने मात्र चाडपर्वको जगेर्ना हुन्छ । अनिमात्र पर्व मनाउनुको औचित्य रहन्छ ।

( लेखक नेपाल ज्योतिष परिषद् रूपन्देहीका अध्यक्ष हुन् )