नेपाली सांकेतिक भाषा तालिम सुरु

८ जेठ, भैरहवा ।  आवाज बिहीनहरुको आवाजलाई संकेतको माध्यमबाट अरु समक्ष प्रस्तुत गर्नका लागि
सिद्धार्थनगर नगरपालिकाको आयोजना तथा लुम्बिनी बहिरा संघको समांयोजनमा भैरहवामा बुधबारबाट एक महिने नेपाली सांकेतिक भाषा तालिम शुरु भएको छ । बहिरा बालबालिका, सामाजिक अगुवा तथा अभिभावकलाई लक्षित गरी तालिम आयोजना गरिएको हो ।
तालिमको उद्घाटन गर्दै सिद्धार्थनगर उपप्रमुख उमा काफ्लेले अंगीय हिसावले पछाडी परेका ब्यक्तिहरुको उत्थान र जीवीकोपार्जनका लागि विशेष योजना साथ आफूहरु अघि बढेको बताइन् ।
उपप्रमुख काफ्लेले बहिरा बालबालिका सँगै अभिभावकलाई समेत सांकेतिक भाषा तालिम दिएमा उनीहरुको समस्या पहिचान गर्न सहज हुने जनाइन् । उनले हरेक बहिरा भएकाहरुलाई उत्पादन सँग जोडेर अघि बढ्नु पर्नेमा जोड समेत दिइन् ।

अभिभावकहरुले आफ्ना सन्तानले कस्तो सिक्न चाहन्छन्, के गरे उनीहरु उत्पादन सँग जोडिन्छन भन्ने कुरा बुझेर आफूहरुसँग समन्वय गरे सीप युक्त कार्यक्रम संचालन गरी उनीहरुलाई योग्य बनाउन सहयोग गर्ने उनले बताइन् ।
पूर्वमन्त्री प्रकाश चित्रकारले सांकेतिक भाषा विश्वकै सबैभन्दा पुरानो भाषा भएकाले यसको संरक्षण गर्नुपर्नेमा जोड दिए । उनले हरेक मानिस सांकेतिक रुपमा बोल्न सक्ने हुनुपर्ने बताउँदै त्यसतर्फ नगरपालिकालाई ध्यान केन्द्रित गर्न आग्रह समेत गरे । नगरपालिका सामाजिक विकास अधिकृत यादव प्रसाद सापकोटाले बहिरालाई मात्रै नभएर अभिभावकलाई समेत तालिम आवश्यक रहेको औल्याए ।

उनले नगर भित्रका सरकारी कार्यालयसँग समन्वय गरी आउने वर्षबाट कम्तिमा एउटा कार्यालयका एक जना कर्मचारीलाई भए पनि सांकेतिक भाषा तालिम दिने व्यवस्था गर्ने प्रतिबद्धता जनाए ।
लुम्बिनी बहिरा संघ अध्यक्ष जुम्मन मुसलमानले भाषाको समस्या समाधान गर्न सबैले सांकेतिक भाषा सिक्नु पर्ने बताए । संकेतलाई नबुझ्दा एक अर्काको भावना बुझ्न कठिन हुँदै गएको भन्दै उनले सबैले थोरै धेरै तालिम लिए पर्ने बताए । आगामी दिनमा समेत नगरपालिकालाई सहयोग र सहकार्य गर्न उनले आग्रह गरे ।
कार्यक्रममा रुपन्देही नागरिक समाज अध्यक्ष रेशम केसी र उपाध्यक्ष श्रीराम गुप्ताले बहिरा भएकाहरुको सहयोग, उनीहरुको क्षमता अभिबृद्धिका लागि सबैको सहयोग आवश्यक रहेको बताए । यस्ता तालिमले व्यक्तिको मनोबल बृद्धि र अभिभावकमा जिम्मेवारी पन बढाउन सहयोग पुग्ने सहभागीको भनाई छ ।
नगरपालिकाको १ लाख २० हजार आर्थिक सहयोगमा तालिम सुरु भएको हो । सहभागीहरुलाई दैनिक रुपमा लुम्बिनी बहिरा माविकी शिक्षिका राजु शर्माले प्रशिक्षण दिनेछिन। तालिममा अभिभावक, बहिरा भएकाहरु, सामाजिक संस्थाका प्रतिनिधि गरी २५ जना सहभागी छन् । उद्घाटन सत्र नागरिक समाज सल्लाहकार गोविन्द गुरुङको संचालनमा भएको हो ।