देवदहमा पहिलो राष्ट्रिय काष्ठकला कार्यशाला हुने

झविन्द्र देवकोटा
७ जेठ, बुटवल । रुपन्देहीको देवदहमा राष्ट्रिय देवदह काष्ठकला कार्यशाला हुने भएको छ ।

कोलिय सभ्यता झल्काउने खालका मुर्ति बनाउने उदेश्यका साथ काठमाण्डौ बाहिर देवदहमा पहिलो पटक काष्ठकला कार्यशाला हुन लागेको हो । कार्यशाला बुधबारदेखि देवदहमा सुरु हुदै छ । ‘देवदहका पार्कलाई कलाले सजाऔं एतिहासिक देवदहलाई विश्वमा चिनाऔं’ भन्ने नाराका साथमा हुन थालेको कार्यशाला जेठ १६ गतेसम्म संचालन हुने मंगलबार देवदहमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

बुद्धसँग सम्वन्धित तथा पर्यटकीय सम्भावना धेरै भएको देवदह क्षेत्रमा पर्यटकलाई आकर्षक गर्न र उनीहरुको बास लम्वाउन काष्ठकला आवश्यक पर्ने भएकाले कार्यशालाको आयोजना गरिएको आयोजक संस्था बुद्ध सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष तथा कार्यशाला संयोजक टेकबहादुर रानाले जानकारी दिए । उनका अनुसार विभिन्न विधाका १७ जना काष्ठकला विज्ञ मुर्तिकारहरुको सहभागिता रहने र उनीहरुले समयसापेक्ष काठमा मुर्ति निर्माण गर्ने छन् ।

कार्यशालामा अधिकाशं बुद्धसँग सम्वन्धित कोलिय सभ्यता झल्काउने खालका मुर्ति बनाईने संयोजक रानाले बताए । उनले आठ दिनसम्म संचालन रहने कार्यशलामा निर्माण भएका डेढ दर्जन बढी मुर्तिलाई देवदहमा निर्माणाधिन अवस्थामा रहेको गौतमबुद्ध राष्ट्रिय उद्योन ज्योतिनगरका बाटिकाहरुमा राखिने समेत जानकारी दिए ।

कार्यक्रममा नेपाल ललितकला प्राज्ञ प्रतिस्ठानका प्राज्ञसभा सदस्य गोविन्दप्रसाद चौधरी, यम थापा, ड्रिम देवदह युनिटि फर चेन्जका संयोजक सिद्धिचरण भट्टराई, नेपाल पर्यटन पत्रकार महासंघ प्रदेश महासचिव कपिल ज्ञवाली, पर्यटन पत्रकार संघ रुपन्देहीका अध्यक्ष नरेश केसि, पत्रकार गोविन्द घर्ति, दिपेश बस्याल लगायतले कार्यशाला सम्पन्न पार्नका लागि सबैको सहयोग महत्वपुर्ण रहेको बताए ।

बुद्धनगर सामुदायिक वन उपभोक्ता समुह र नेपाल ललितकला प्राज्ञ प्रतिस्ठान, काठमाण्डौको संयुक्त आयोजनामा हुन लागेको कार्यशालाको संरक्षक देवदह नगरपालिका रहेको छ भने ड्रिम देवदह युनिटि फर चेन्ज प्रवद्र्धकका रुपमा रहेको छ । कार्यशालाको उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लिला गिरि र प्रदेश सभासद डाक्टर कृष्ण न्यौपानेले बुधबार उद्घाटन गर्ने कार्यक्रम छ ।

कार्यशालामा देवदहको पर्यटकीय क्षेत्रका प्रचारप्रशार तथा प्रवद्र्धनका विषयमा छलफल, अन्तरक्रिया र कार्यशाला हुने बताइएको छ । कार्यशालामा बनाइएका मुर्तिहरु बुद्ध सामुदायिक बनलाई हस्तान्तरण गरिने छ ।