तिलोत्तमा नगरपालिकामा राष्ट्रिय मुक्तक महोत्सव, देशभरका मुक्तककारहरु एउटै मञ्चमा

२१ बैशाख, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा राष्ट्रिय मुक्तक महोत्सव सम्पन्न भएको छ । तिलोत्तमा साहित्य कला, सङ्गीत प्रतिष्ठान रुपन्देहीको आयोजनामा सम्पन्न महोत्सवमा देशभरका ११ जिल्लाका मुक्तककारहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा रुपन्देही सहित नवलपरासी, पाल्पा, सिन्धुली, मोरङ, रुकुम, बाग्लुङ, बर्दिया , कास्की, रौतहट, जाजरकोट, बाँके लगायतका जिल्लाका मुक्तककारहरुले मुक्तक वाचन गरेका थिए ।

नगरपालिकाको ड्राइभरटोल स्थित न्यु होराइजन कलेजको सभाहलमा सम्पन्न महोत्सवमा साहित्यकारहरुले माया प्रेम, राजनिति र अन्य समसामयिक बिषयमाथी मुक्तक प्रहार गरे ।

पहिलो सत्रमा उपस्थितहरु

रौतहटका मुक्तककार हरिकृष्ण काफ्लेले मुक्तक वाचन गर्दा दर्शक दिर्धाबाट पररर ताली बज्यो ।

म जोखिममा परें हजुर, कालोलाई कालो भन्दा
गाँउको नामूद गुण्डालाई, मन्त्रीज्यूको सालो भन्दा
मलाई मटियामेट पार्ने, कसम उसले खाको छ रे
उसको दलको मेनुफेस्टो, लगौटीको टालो भन्दा ।

त्यस्तै अर्को मुक्तकमा उनले यसो भने,

लेउ खादा संगै थियो गँड्यौला जो हात पार्‍यो
त्यो कुवाको भ्याउगाताले आफन्तलाई लात मार्‍यो
भ्यागुताको खुवी देख्दा म त झक्क परें हजुर
बिकास दरमा भ्यागुताले पुर्खालाई मात पार्‍यो ।

यस्तै भारतको दादागिरीप्रति साहित्यकार कबिराज नेपालले यसरी कटाक्ष गरे  ।

कात्रो होस त चिनिन्छ किन्तु सजिदै खादा नबन् भारत
तेरो चाल पुरै खुलस्त छ अझै सादा नबन् भारत
आफै हुर्कन दे छ सानो बिरुवा वाधा नबन् भारत
नाका बन्द भए बिकल्प छ अरु दादा नबन् भारत

त्यस्तै छवि ज्ञवालीको मुक्तक यस्तो थियो  ।

सगरमाथा नागीसक्यो नुन तेलको भाउ अचेल
किन किन पहिले भन्दा चहर्याउछ घाउ अचेल
कसले सुन्छ गुँण भित्र बचेराको कथा ब्याथा
गुण छोडि सिंहदरवार पुग्यो गाँउको माउ अचेल

त्यस्तै मिर्मिशा पराजुलिले आफ्नो अन्तिम मुक्तकमा पुरुषहरुलाई यसरी प्रहार गरिन ।

कोहीले भन्लान् न्याय हो पुरुपहरुलाई
यस्तो हुनी त प्राय हो पुरुषहरुलाई
तन बुढो भएपनि मन बढै नहुने
एक प्रकारको सजाय हो पुरुषहरुलाई

कार्यपत्र प्रस्तुत गर्दै डा. पराजुलि

दिवासत्रमा सम्पन्न मुक्तक वाचन पुर्व बिहानी सत्रमा एक कार्यपत्र र त्यसमाथीको टिप्पणी सम्पन्न भयो । नेपाली मुक्तकको परम्परा शिर्सकमा डा. मुरारी पराजुलीले प्रस्तुत गरेको कार्यपत्रमाथी साहित्यकार ऋषिराम भुषाल, प्रा. डा. बिष्णु प्रसाद पौडेलले टिप्पणी गरेका थिए ।

प्रतिष्ठानका अध्यक्ष डा. मुरारी पराजुलिको अध्यक्षता, सरुभक्तको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका संरक्षक तथा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरे, बरिष्ठ गितकार तथा मुक्तककार राजेन्द्र थापा, प्रगतिबादी साहित्कार रामचन्द भट्टराई, प्रा. डा. बिष्णु प्रसाद पौडेल, बरिष्ठ आख्यानकार एबं मुक्तककार बनमाली निराकार, लगायतले सुभकामना मन्तब्य राखेका थिए ।

प्रतिष्ठानका उपाध्यक्ष कविराज नेपालको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन महासचिव लिलाधर पाण्डेयले गरेका थिए ।