ईस्लाम धर्मावलम्बीहरूको पबित्र पर्व रमजान आजदेखि सुरु, के हो रमजान ?

अहमद हुसैन रजवी
२४ बैशाख, बुटवल । ईस्लाम धर्मवलम्बीहरुको पबित्र पर्व रमजान आज बाट सुरु भएको छ । एक महिना सम्म चल्ने रमजान महिना यो बर्ष बैशाख २४ गते मंगलवार देखी सुरु भएको हो। रमजान शब्द अरबी भाषाको ‘रामिदा अथ्वा अर-रमद’ बाट आएको । जसको शाब्दिक अर्थ ‘एक्दमै तातो, आगोको भट्ठी’ आदि हुन्छ। रमजान को अध्यात्मिक अर्थ मानवीय इच्छाहरु माथि विजय प्राप्त गर्नु हो। रमजानलाई रमदान पनि भनिन्छ। रमजान ईस्लामिक क्यालेन्डरको नवौँ महिना हो । ईस्लामिक बिद्वान अनुसार रोजा २ हिज्री अथवा सन् ६२३ बाट सुरु भएको पाइन्छ ।

ईस्लामिक क्यालेन्डर अनुसार यो १४४० औं रमजान महिना हो । रमजानमा मुसलमान धर्मावलम्बीहरुले उपवास बस्छन् । त्यसलाई ‘रोजा’ भनिन्छ । यस महिनामा मुसलमान धर्मावलम्बीहरुले अल्लाहको प्रार्थना गरेर अल्लाहलाई राजी गर्छन् ।

रमजान महिनामा मुसलमानहरुले सुर्य उदाउनु भन्दा करिब ढाई घण्टा पहिला सेहरीको रुपमा खाने कुरा खाई दिन भरी केही नखाई उपवास बसी सुर्य अस्ताएपछि ईफ्तारको रुपमा खानेकुरा खोजुर, फलफुल,मिठाई बाट रोजा खोल्ने प्रचलन छ । रमजान महिनालाई तीन भागमा विभाजन गरिएको हुन्छ। जसलाई अशरा भनिन्छ । दस दिनको एक अशरा हुन्छ । रमजान महिनामा मुसलमानको सबै भन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो।रमजान माहिनाको अंतिम अशराको लैलातुल कदर भन्ने राति मा कुरानको अवतरण भएको मान्याता छ।

यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास छ।यो महिनामा कुनै पनि एउटा राम्रो काम गर्दा सत्तरी वटा राम्रो काम गरे बराबरको सवाब पाईने भएको हुदाँ बरकतको महिना समेत मानिने चलन रहेको छ । दान दिनु, गरीब र दीनदुःखीलाई सेवा गर्नु तथा नाफा को २ दशमलब ५ प्रतिशत जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो ।
रमजान व्रत बस्न एक दिन पहिले साँझ मुसलमानहरुले चन्द्रमा हेर्न आकाशतिर दृश्यावलोकन गर्ने र चन्द्रमा हेरेर रमाउने प्रचलन छ ।

यो पर्वमा मुसलमानका पाँच आधार स्तम्भमा हज बाहेक सबै स्तम्भ रोजा,नमाज,जकात,फितरा पूरा हुने गर्दछ । रोजा बस्नेहरुले आफ्नो शरीरलाई चोखो राखी दिनमा नियमित पाँचपटक नमाज पढ्नुका साथै रातमा थप तरावीको नमाज पढ्ने गर्छन् ।

त्याग, तपस्या र बलिदान सबै जोडिने यो पर्वमा मुसलमान रोजा बस्नुलाई गर्व मान्दछन् । नाबालक, बिरामी, घातक रोग लागेका र गर्भवती ,रजस्वला ,सुत्केरी महिला बहेक सबैलाई रोजा बस्न अनिवार्य हुन्छ। रमजानमा तीस दिनको रोजा पूरा गरिसकेपछि इदको चाँद अर्थात् चन्द्रमा हेरेर भोलिपल्ट इदगाहमा गएर सामूहिक रुपमा नमाज पढी इदुलफित्र मनाइन्छ ।