नयाँबर्षमा राष्ट्रपतिको शुभकामना सन्देश ‘समृद्ध नेपाल सुखी नेपाली’को लक्ष्य प्राप्ति हुने विश्वास

१ बैशाख, काठमाण्डौ । नव वर्ष २०७६ का अवसरमा राष्ट्रपति बिद्यादेवी भण्डारीले आज देशवासीको नाममा शुभकामना सन्देश दिनुभएको छ । शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले मुलुकको राष्ट्रिय सङ्कल्प ‘समृद्ध नेपाल सुखी नेपाली’को साझा लक्ष्य प्राप्त गर्न विसं २०७६ महत्वका साथ अगाडि बढ्ने विश्वास व्यक्त गरेकी छन ।

सन्देशमा राष्ट्रपति भण्डारीले भनेकी छन , “नेपाल र नेपालीको यो दृढ सङ्कल्प साकार तुल्याउने अभियानमा हामीलाई माया गर्ने सम्पूर्ण अन्तर्राष्ट्रिय जगत्को साथ र सहयोग हामीले पाउनेछौँ ।”

हाम्रो ठूलो सङ्घर्षबाट मुलुकले प्राप्त गरेको ऐतिहासिक उपलब्धिलाई सुशासन र समृद्धिमार्फत सुदृढ बनाउन नयाँ वर्षले सबैमा थप ऊर्जा प्रदान गरोस भनी शुभकामना व्यक्त गर्दै उनले प्राकृतिक एवं सांस्कृतिक वैभवयुक्त हाम्रो मुलुक स्वाधीन र स्वाभिमान राष्ट्रका रुपमा विश्व मानचित्रमा अङ्कित छ भनेकी छन ।

विसं २०७५ सङ्घीय शासन प्रणालीअनुरूपको कानून निर्माण एवं संस्थागत सुदृढीकरण गर्दै सुशासन र समृद्धिको मार्गमा उन्मुख रहन सफल भएको स्मरण गराउदै शुभकामना सन्देशमा उनले , “नयाँ वर्षका अवसरमा सबै नेपाली दिदी बहिनी, दाजुभाइमा उच्च मनोबलका साथ अगाडि बढ्न आह्वान गर्दछु ” भनेकी छन । सन्देशमा भनिएको छ, “नयाँ वर्ष २०७६ साल मुलुकमा समृद्धि र दिगो शान्तिका साथ महत्वपूर्ण उपलब्धि हासिल गरेको वर्ष बन्न सकोस सबैमा हर्सोल्लासको कामनासहित हार्दिक शुभकामना व्यक्त गर्दछु ।”