नयाँबर्षमा प्रधानमन्त्रीको सम्बोधन: ‘भ्रष्टाचार बिरुद्ध लड्न समय लाग्न सक्छ’

कब्जा गरिएका सरकारी जग्गा फिर्ता गराइन्छ

१ वैशाख, काठमाडौं । नयाबर्ष २०७६ को अबसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासिका नामामा सम्बोधन गरेका छन । सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले जालझेल गरेर कब्जा गरिएका सरकारी जग्गाहरु सबै फिर्ता गरिने बताएका छन ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासको जग्गा नै भूमाफियाहरुले बेचेको खुलासा भएको बेला प्रधानमन्त्री ओलीले राज्यको सम्पत्तिमाथिको अनधिकृत दोहनलाई छुट नदिइने बताएका हुन । यद्यपि भ्रष्टाचारविरुद्ध लड्न सहज नभएको बताउँदै उनले यसलाई उन्मूलन गर्न लामो समय लाग्न सक्ने पनि बताए ।

नयाँ वर्षमा बालुवाटार निवासबाट देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘तर जुनसुकै मूल्य चुकाएर भए पनि भ्रष्टाचारलाई उन्मुलन गरीछाड्ने अभियानमा म प्रतिबद्ध छु ।’

प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा आफू नेतृत्वको सरकारका उपलब्धीबारे चर्चा गरेका थिए । प्रधानमन्त्री ओलीले समृद्धिको अर्को पूर्वसर्त शान्ति हो भन्दै मुलुकबाट पृथकतावाद अन्त्य भएको दावी गरे ।

उनले विप्लव समूहप्रति संकेत गर्दै त्यसको गतिविधि नियन्त्रण गर्न राष्ट्रिय अभियान नै चलाइएको जानकारी दिए । नेपालमा हिंसाको दुष्चक्र स्वीकार्य नहुने ओलीले बताए । प्रधानमन्त्री ओलीले भने, ‘सबैखाले अतिवाद, अशान्ति र गडबडीबाट मुलुकलाई छिट्टै मुक्त गराइने छ ।

उनले अगाडि भने, ‘अहिले बिभिन्न आवरणमा सुरु गर्न लागिएको हिंसा, अतिवाद र त्यसमाथि आधारित आपराधिक गतिविधिलाई नियन्त्रण गर्ने राष्ट्रिय अभियान सुरु भएको छ ।’