तिलोत्तमा नगरपालिकामा राजमार्गको हरेक ३ सय मिटरमा वुद्ध मूर्ति

१ बैशाख, तिलोत्तमा । प्रदेश सरकारले घोषणा गरेको  लुम्विनी भ्रमण बर्ष २०७६ सफल बनाउन रुपन्देहीको तिलोत्तमा नगरपालिकाले प्रचार अभियान सुरु  गरेको छ ।  लुम्विनी भ्रमण बर्ष सफल बनाउन नगरपालिकाले आज बुटवल उपमहानगर नगरपालिकासंगको सीमा क्षेत्र योगिकुटीमा बुद्धमुर्ति स्थापना गरेको छ ।

नयाँ वर्षको पहिलो दिन आज बिहान योगिकुटीमा बुद्धमुर्तिको प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले अनावरण गरे ।  नगरपालिकाले बेलहिया बुटवल ब्यापारीक मार्ग अन्तरगत तिलोत्तमा नगरपालिकाको योगीकुटी देखि कोटिहवा सम्मको सडक डिभाइडरमा गौतम बुद्ध र बुद्ध जिवनसंग जोडिएका मुर्तीहरु राख्ने योजना बनाएको छ । कम्तीमा २० वटा बुद्ध मुर्ति चालु आर्थिक बर्षमै राखिने छ भने आगामी आर्थिक वर्षमा बाकी क्षेत्रमा बुद्धमुर्ति राखिने बताइएको छ ।

नगर प्रमुख बासुदेव घिमिरेले  प्रदेश सरकारको लुम्विनी भ्रमण बर्षलाई सघाउन नया बर्षको पहिलो दिनबाट नगरपालिकाले प्रचार अभियान थालनी गरेको बताए ।

तिलोत्तमा नगरपालिकाले यस बर्षको बुद्ध पुर्णिमा सम्म योगिकुटी देखि मंगलापुर सम्मको करिव ७ किलोमिटरको दुरीमा २० वटा मुर्ती निर्माण गरी सकेको उनले जानकारी दिए । नगर उपप्रमुख जागेश्वरी चौधरीले सिक्सलेन सडक डिभाइडरको २५० देखि ३०० मिटर दुरीमा बुद्धमुर्ति राखिने बताइन् ।

नगर प्रवक्ता सुरेन्द्र श्रीले लुम्विनीसंग निकटका नगरपालिकाहरुलाई जोडेर एकिकृत बिकास योजना आवश्यक भएको सन्दर्भमा त्यसको औचित्य पुष्टि गर्न र प्रदेश सरकारको योजना सफल बनाउन अभियान सुरु गरेको बताए ।

नगरपालिकाले यसबर्षको बजेट बाट गौतमबुद्ध, मायादेवी , सुद्धोधन र बुद्ध जिवन संग जोडिएका मुर्तीहरु निर्माण गरी सडकको मध्यभागमा राख्ने कार्यका लागि ५० लाख रुपैया बिनियोजन गरेको जनाएको छ । यस बर्षको बुद्ध पुर्णीमा देखि आगामी बर्षको बुद्ध पुर्णिमा सम्मलाई प्रदेश ५ सरकारले लुम्विनी भ्रमण बर्षको रुपमा मनाउने घोषणा गरेको छ ।