जितगढी विजय उत्सव दिवसको भव्य तयारी , प्रधानमन्त्री सहित विशिष्ट व्यक्ति बुटवल आउदै

  • जितगढी सम्पदा स्थल झकिझकाउ

  • उजीरसिंहकै पालाका जस्ता सेनाले युद्ध कौशलको झांकी प्रदर्शन गर्ने

५ बैशाख, बुटवल । तत्कालीन अंग्रेजलाई दुई सय वर्षअघि पराजित गरेको खुशियालीलाई बुटवल उपमहानगरपालिकाले जीतगढी विजय उत्सव दिवसका रुपमा मनाउँदै छ । सम्पदा स्थल किल्ला परिसरमा बैशाख ७ गते शनिवार विजय उत्सव मनाउन लागिएको हो । २०४ वर्षअघि विसं १८७१र७२ बैशाख ७ गते कर्णेल उजिरसिंह थापाको कमाण्डले अंग्रेज सेनालाई पराजित गरेको दिन हो । सोही दिनलाई विजय उत्सव दिवसका रुपमा गत वर्षदेखि बुटवलले भव्य रुपमा मनाउन लागेको हो ।

यस पटक पर्सी दोश्रो बिजयोत्सवको दिन जीतगढी किल्ला परिसरमा निर्माण गरीएको कर्णेल उजीर सिंह थापाको पूर्ण कदको शालिक अनावरण गर्ने र शालिकको छेउँमा विशाल राष्ट्रिय झण्डा झण्डोत्तोलन गर्ने कार्यक्रम रहेको नगर प्रमुख शिवराज सुवेदीले जानकारी दिए। शालिक अनावरण र झण्डोत्तोलन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन । बिजयोत्सव समारोहमा प्रधानमन्त्री ओली सहित पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, रक्षामन्त्री इश्वर पोखरेल, कांग्रेस महामन्त्री सशांक कोइरालालगायतका शीर्ष नेता बुटवल आउने कार्यक्रम रहेको प्रमुख सुवेदीले जानकारी दिए ।


बिजयोत्सवलाई भब्य बनाउन जीतगढीमा बिशेष तयारी गरीएको र त्यसमा नेपाली सेनासहितका सुरक्षाकर्मीले सहकार्य गरिरहेको छ । दिवसका अवसरमा तत्कालिन युद्धको प्रर्हशन गर्ने तयारीसमेत भइरहेको छ । मञ्च निर्माण, स्वागतद्वार निर्माण सरसफाईलगायतका काम भइरहेका छन । सम्पदा स्थलको सुरक्षा र दिवस तयारीमा नगरपालिकाका वडाअध्यक्ष, कार्यपालिका सदस्यहरु,प्राविधिक हरु र सुरक्षाकर्मीले दिवसको तयारी गरिरहेका छन् ।

बुटवल उपमहानगरपालिकाले ऐतिहासिक दिनको उत्सवलाई ऐतिहासिक बनाई जीतगढीलाई राष्टिय अन्तर्राष्ट्यि क्षेत्रमा व्यापक प्रचार प्रसार गर्ने कार्यको सुरुवाद गरेको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जानकारी दिए । शर्माले यस पटकको उत्सव पश्चात गुरुयोजना बनाई जीतगढीको संरक्षण, प्रबर्द्धन र बिकास गरीने बताए ।

बैशाख ७ गते बिहान ८ बजे नै उपमहानगरपालिकाबाट विजय र्याली निकाल्ने र बिहान १० बजे नै किल्ला परिसरमा पुग्नेगरी समय तालिका तय भएको प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिनुभयो ।