चैतेदशैं, रामनवमी र भगवान रामचन्द्र

ज्यो.चक्रपाणी डुम्रे ( शास्त्री)

चैत महिनाको शुक्ल पक्षको  नवमी तिथिमा मनाइने पर्व हो रामनवमी । रामनवमीका दिन श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइन्छ । नौ अंक आफैमा पूर्ण अंक हो ।

नौ भन्दा ठूलो अर्को कुनै अंक छैन जो कि संयुक्त नहोस् ।भगवान रामचन्द्र पनि आफैमा पूर्ण मर्यादित पुरूषोत्तम हुनुथ्यो । त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीका सुपुत्रका रुपमा श्री रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो । भगवान विष्णुको सातौँ अवतार मानिने रामचन्द्रको जन्म हुँदा पुनर्वसु नक्षत्र थियो । कुण्डलीमा चन्द्रमाका साथ बृहस्पति रहेको कर्कट लग्नको योग परेको थियो ।

भगवान् रामचन्द्रको कुण्डलीमा पाँचग्रह सूर्य, मङ्गल, गुरु, शुक्र र शनि एकसाथ हुने दुर्लभ योग परेको थियो । वर्षका चार नवरात्रमध्येको   बसन्तीय नवरात्रका नवमीका दिन जन्मिएका रामचन्द्रले राक्षसी प्रवृत्तिको अन्त्य गरी रामराज्य स्थापना गर्नु भएको थियो ।

प्रायः जसो चाडहरू वर्षमा एकपटक पर्दैछ्न् । तर   शास्त्रमा उल्लेख भए अनुसार  वर्षमा चार दसैं- नवरात्र वा दुर्गा पूजा  पर्छन् । प्रत्येक ३-३ महिनामा नवरात्री पर्व आउँछन् । ती हुन आश्विन,पौष ,चैत र असार  शुक्ल पक्षको प्रतिपदादेखि नवमीसम्म । यद्यपि त्यसमध्ये पनि चैतको  र आश्विन शुक्ल पक्षमा पर्ने नवरात्रको विशेष महत्त्व रहेको हुन्छ । आषाढ र पौष महिनामा पर्ने लुप्त दसैं हुन् । नवरात्रीका दिनहरूमा दुर्गा भवानीले नौ रूप धारण गर्ने भएकीले नवदुर्गा को छुट्टाछुट्टै स्वरूपको पूजाआजा , व्रत, उपासना गरिन्छ।

के भनिन्छ भने पहिले चैते दसैंलाई नै दसैं रूपको रूपमा मनाईन्थो। पछी असोजलाई अनुकुल मानी शरदीय नवरात्रिमा दसैं मनाउन थालियो ।  चैत शुक्ल नवमीमा भगवान श्रीरामचन्दको जन्मोत्सवका दिन जसले व्रत उपबास बसी श्रद्धा भक्तिपूर्वक भक्तिपूर्वक रामचन्द्रको पूजा गर्नाले अनेक जन्मका पाप नाश भई बैकुण्ठ बासको प्राप्ति हुन्छ भन्ने शास्त्रीय मान्यता पनि छ ।  चैतेदसैंको महत्त्वबारे विभिन्न धर्मग्रन्थमा भनिएको छ – चैत शुक्ल अष्टमीको दिन भवानी उत्पन्न हुनुभएको दिन हो। यसदिन भवानीको बिधिपूर्वक पूजाआजा गर्नाले रोगशोक हटेर आनन्द र सुख मिल्छ भन्ने विश्वास छ। यसै यश दिन देवीको शक्तिपीठमा दर्शनपूजा गर्नेको भिड लाग्दछ।

चैत्र शुक्ल रामनवमी विषयमा यस्तो किम्वदन्ती छ –
कुनै समयमा मिथिलामा राजा जनकले आफ्नी छोरीको  विवाह पराक्रमी र बलवान् पुरूषसङ्ग  मात्र गरिदिने अठोट गरेका थिए ।उनले आफूसँग रहेको शिव धनुष उठाएर त्यसमा ताँदो चढाउन जसले सक्छ उसैसङ्ग सीताको विवाह गरिदिने प्रतिज्ञा गरेका थिए ।

बाल्यकालमा सीताले सो धनुष कुनै परिश्रमविना उठाएको जनक स्वयंले देखेका थिए । सीता विवाहा योग्य भइसकेपछि उनलेे स्वयंवर समारोहको आयोजना गरेका थिए । त्यसमा भागलिन राजा जनकले विभिन्न राजा र राजकुमारहरूलाई आमन्त्रण गरेका थिए ।एकसे एक वीर योद्धाहरू उपस्थित भए ।अयोध्याका राजा दशरथका पुत्र श्रीरामचन्द्र पनि मिथिला पुगेका थिए । राजा जनकले ” जसले शिवको धनुष उठाएर त्यसमा ताँदो चढाउन सक्छ उसैसङ्ग आफ्नी पुत्री सीताको विवाह गरिदिने घोषणा गर्दै सुरू गर्न आज्ञा दिए । देवी सीतापनि त्यहाँ उपस्तिथि थिइन् ।

उनको हातमा वरमाला कैयौं राजा र राजकुमारहरूले प्रयास गरे तर विफल भए । राजालाई सीताको बिवाहा नै हुन नसक्ने हो कि भन्ने चिन्ता पर्‍यो । त्येत्तिकैमा महर्षी विश्वामित्रले आफ्ना शिष्य श्रीरामचन्द्रलाई शिव धनुष उठाउने आज्ञा दिए । श्रीरामले आफूले हासिल गरेको बिद्याका प्रभाव सो धनुष उठाई तादो चढाउन लाग्दा धनुष भाचिएर टुक्रा भयो । सीताले रामचन्द्रलाई वरमाला पहिर्‍याईन् सीता- रामको विवाह सम्पन्न भयो । सीता र रामचन्द्रको बिवाहा बिवाहा पञ्चमीका दिन सम्पन्न भएता पनि  सीतारामको सम्झनामा प्रत्येक वर्ष रामनवमीका दिनमा पनि  सीता जन्मभूमि जनकपुरमा ठूलो मेला लाग्दछ ।

भगवान रामचन्द्रले पितृ आज्ञामा दृढ रहनुका साथै धार्मिक,सामाजिक मुल्य र मान्यतालाई उल्लंघन गर्ने रावणरूपी दुष्टहरूको विनाश गर्नु भयो । रामको चरीत्र नियालेर मनन गर्दा पथप्रदर्शक  पावन चरित्रको वर्णन पाउदछौ । अत: रामनवमी मनाउदै गर्दा भगवान रामचन्द्रका विचार, सिद्धान्त र आदर्शलाई जीवन ब्यवहारमा अभ्यास गर्नु हो । सीताको चरीत्रवाट त्यागको भावना जगाउनु पर्छ।सीताबाट हरेक गृहिणीले प्रेम,विश्वास र समर्पणको शिक्षा लिनु जरुरी छ ।

आपसी सद्भाव, भातृत्व प्रेमको शिक्षा राम,लक्ष्मण,भारत र शत्रुघ्नको चरीत्रवाट सिक्न सकिन्छ।तसर्थ पर्व मनाउदै गर्दा त्येसबाट आदर्श र सकारात्मक चरीत्रलाई ग्रहण गर्नु आवश्यक छ तब मात्र पर्व मनाउनुको सार्थकता हुन्छ । अस्तु ।