गुल्मीको मुसिकोटमा बन्दाबन्दै भत्कियो पुल

१ बैशाख, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकामा बन्दै गरेको पुल भत्किएको छ। शनिबारदेखि ढलान थालिएको पुल आइतबार ढलान गर्दागर्दै भत्किएको हो।

नगरपालिकाको बडागाउँ र वामीटक्सार बजार जोड्ने पुल भत्किएको हो । पुल भत्किदा ठेकदारसहित पाँचजना मजदुर घाइते भएका छन् । प्रदेश ५ सरकारले विनियोजन गरेको बजेटबाट पूर्वाधार विकास कार्यालय गुल्मीमार्फत् उक्त पुल निर्माण गर्न लागिएको हो।

५८ मिटर लामो पुलकोबीच भागमा पिलर नउठाई बनाउन लागिएको थियो । ओभरलोडका कारण पुल भत्किएको हुन सक्ने मुसिकोट नगरपालिकाका नगर प्रमुख सोमनाथ सापकोटाले बताए । पुल निर्माणका लागि करिब पाँच करोड बजेट विनियोजन गरिएको साविकको जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर पारस पन्थीले जानकारी दिए ।


पन्थीका अनुसार उक्त पुल बीचमा पिलर राख्न नपर्ने प्रिटेस्ट डिजाइनको हो । दरमखोलामा पानीको सतह बढेर पुलमुनी राखिएको टेका भासिएकाले पुल भत्किएको हुन सक्ने पन्थीको अनुमान छ। पुल निर्माणको जिम्मा वाईपी जयबुद्ध निर्माण कम्पनी काठमाडौंले लिएको थियो ।

पन्थीका अनुसार अब पुन डिजाइन गरेर पुल निर्माण हुनेछ। अघिल्लो वर्षनै निर्माण भइसक्नु पर्ने उक्त पुल डिजाइन फेल हुदा पुन: डिजाइजन गरिएको थियो।

घाइतेहरुको इमरजेन्सी पोलिक्लिनिक हटियामा उपचार भैरहेको छ । घाइतेहरु मध्ये निर्माण व्यावसायी समेत रहेका ऋषिराम इटनी काठमाडौं र बडिगाड गाउँपालिका २ का तुल वहादुर रानालाई पोखरा रिफर गर्ने तयारी भएको अस्पताल श्रोतले जानकारी दिएको छ। सो दुर्घटनामा गुल्मी मुसिकोट नगरपालिकाका रन वहादुर कुमाल, गणेश कुमाल र रुद्र वहादुर कार्कि घाइते भएका छन |