शरीर अड्याउने साहारा धेरै पटक टुट्यो तर दिल टुटेन दिलमायाको

“सिलाइ तालिम र मेसिन भए बसिबसी कमाई गर्न सक्थेँ”

बाबुराम गैरे
२८ फागुन, बुटवल । उमेरले २५ टेकेकी दिलमाया बिकको शरीरको भार खुटटाले थाम्न छाडेको पनि ८ बर्ष बित्यो । घरपरिवारमा पनि कसैले साहारा दिएनन् । अपाङ्ग आश्रम नै घर बनेको छ । हिडडुल गर्ने एकमात्र साहारा एउटा वाकर छ । त्यहि पनि पटक पटक भाचिएर जीर्ण बनेको छ ।

शरीर र वाकर जीर्ण भएपनि दिलमायाको दिल भने कमजोर भएको छैन । अवसर पाए केही गर्न सक्छु भन्ने आँट दिलमायाको मनमा छ ।
दिलमायाको शरीरमा बल छैन, साहाराबिना उभिन सक्दिनन् तर उनीसँग सिर्जनशील हात र स्वस्थ दिमाग छ ।

बुटवलको देवीनगरमा रहेको नेपाल अपाङ्ग आश्रममा आश्रय लिदै आएकी दिलमायालाई कसैले केही सीप सिकायो भने छिट्टै टिप्न सक्छिन । उनलाई कपडामा बुटिक भर्न आउँछ । त्यस्तै उनले निकै सुन्दर चाबीछल्लाहरु (कि–रिङ) बनाउन जानेकी छन । उनले बनाएका चाबीछल्लाहरू २ थरीका छन । सेण्डिल जडित छल्लालाई आश्रममा ५० रुपियामा बिक्रि गरिन्छ भने अर्को प्रतिगोटा १५० मा बिक्रि गर्ने गरिएको छ । उनले बनाएका चाबीछल्लाहरू अत्यन्तै आकर्षक छन । सबै सामान जुटाउन सके दिलमायाले दिनमा ५० वटा भन्दा बढि छल्लाहरू बनाउन सक्छिन् ।


आश्रममा आउने ब्यक्तिहरुले उनले बनाएको सामान मन पराएर किन्ने गरेका छन । त्यही बेचेको पैसाले आश्रमलाई पनि थोरै भएपनि आम्दानीको स्रोत बनेको छ । तर व्यावसायिक रुपमा बजारमा लगेर बेच्ने व्यावस्था भने मिलाइएके छैन ।

सयपत्री युबा क्लबले आश्रममा संचालन गरेको तालिमबाट उनले त्यस्ता चाबीछल्लाहरु बनाउन सिकेकी हुन । त्यस्तै रोटरी क्लव अफ बुटवलले सञ्चालन गरेको तालिमबाट उनले बुटिक सिकेकी हुन ।

अव दिलमायालाई सिलाइ कटाइ सिक्न मन छ । “सिलाइ सम्बन्धि सीप र एउटा सिलाइ मेसिन भए बसिबसी कपडा सिउन सक्थ”े उनले भनिन् । तर उनीसंग सिलाइ तालिम र सिलाइ मेसिन किन्ने पैसा छैन ।

दिलमाया कसरी भइन् अपाङ्ग

उनका अनुसार ९ बर्षको उमेरमा उनी जंगलमा च्याउ खोज्न गएकी थिइन् । त्यही समय दाउरा झार्न रुखमा चढेको बेला हागो भाचिएर दिलमाया भुईमा बजारिन पुगिन् । उनको एउटा खुट्टा भाचियो । बाबाआमाले दाङको एक अस्पतालमा पुर्याउनुभयो । डाक्टरले त्यहाँ निको नहुने भन्दै अन्यत्रै राम्रो अस्पतालमा लैजान सल्लाहा दिए ।

आर्थिक अबस्था कमजोर हुँदा उनको उपचारका लागि बाबाले दाङ बाहिर लैजान सकेनन् । त्यसपछि त्यहा उपलब्ध सामान्य उपचार भयो । पछि बाल्यकालमा उनलाई समस्या भएको महसुस पनि भएन । तर त्यसको झण्डै १० बर्षपछी जव उनका खुट्टाले बिस्तारै काम गर्न छाडे । समस्या बिस्तारै कम्मर सम्म पुग्यो । अझैपनि उनको उपचार सम्भब हुनसक्छ तर यसको अगुवाई गर्ने कोही छैन ।

दाङको घोराहि उपमहानगरपालिका घर भएकी दिलमाया अपाङ्ग भएर घरपरिवारबाट पनि अपहेलित भइ कष्टकर जीवन बिताइरहेको खवर पाए पछि बुटवलको नेपाल अपाङ्ग आश्रमले उनलाइ उद्धार गरेको हो ।

दिलमायाको पिडा नत सरकारले हरेक बर्ष निकासा गर्ने ठुलो आकारको बजेटमा नै अटाउन सक्यो न त उनको पिडामा स्थानिय निकाय र सामाजिक संघसंस्थाकै नजर पुग्न सक्यो ।

एक तथ्यांकअनुसार नेपालमा ३० लाख बढि अपाङ्ग छन्। सबैतिरबाट अपहेलित भएकै कारण धेरै अपाङ्गहरु मठमन्दिर, सडक, पाटीपौवालगायतका ठाउँमा शरण लिन बाध्य छन्। कुनै पनि स्थान तथा संरचना अपांगमैत्री छैनन्। यही कारण उनीहरु राज्यप्रदत्त सीमित सुविधा लिन पनि असमर्थ छन्।