भगवान शिव र महाशिवरात्री पर्व, यस्तो छ किवदन्ती

ज्यो.चक्रपाणी डुम्रे (शास्त्री)

फागुन । नेपालमा प्रचलित विभिन्न चाडपर्वहरू मध्ये शिवरात्रि पनि एक हो । यो पर्व प्रत्येक फाल्गुन कृष्ण चतुर्दशी तिथिमा मनाउने गरिन्छ । यस दिनमा शिवको ज्योतिर्लिङ्ग उत्पत्ति भएको हुनाले शिवजीको जन्मदिनकै रूपमा मनाउने गरिन्छ। यसै दिन शिवजीको पार्वतीसंग बिवाहा भएको हो भन्ने मान्यता पनि छ । यसैले पनि यो दिन अत्यन्तै पावन दिन हो ।

भाद्र कृष्णजन्माष्टमीलाई मोहरात्रि र आश्विन शुक्लअष्टमीलाई कालरात्रि भनेजस्तै शिवरात्रिलाई महारात्रि पनि भन्ने गरिन्छ। रात्रिकालिन समयमा पूजा उपासना गरिने भएकाले शिवरात्रि वा महारात्रि भनिएको हो। “शिवही परम् तत्व” शिवनै परम तत्व भनेर शिवपुराणमा ब्याख्या गरिएको छ ।

महाशिवरात्रिका विषयमा यस्तो किवदन्ती छ

एकपटक फाल्गुन कृष्ण त्रयोदशीका दिनमा एउटा सिकारी सिकारको खोजीमा जङ्गलमा गयो। जङ्गलमा उसले पानी खोज्दै कुवा नजिकै आइरहेको हरिणलाई देख्यो र धनुष उठाई मार्न तम्स्यो । हरिणीले सिकारीको छेउमै आएर ” मलाई नमार,मार्ने नै हो भने भोलि मार । अहिले मेरा बच्चाहरू भोकले मर्न लगेका छन् । तिनका लागि आहारको बन्दोबस्त गरेर फर्कन्छु । त्येती बेला जे ईच्छा लाग्छ गर्नु म बेइमानी गर्नेछैन । भोलि बिहान हुनसाथ म हाजिर हुनेछु” भनी सिकारीसङ्ग अनुनयविनय गर्यो ।

सिकारीले पनि उसलाई वाचा अनुरूप छाडिदियो । उसले त्यो दिन अरू सिकार पनि भेट्टाउन सकेन र रातभरि त्येही जङ्गलमा एउटा रूखमा उसको बास भयो। संयोगले उ चढेको रूख बेलको थियोे, रूखमुनि शिवलिङ्ग पनि थियो । जाडोको मौसम ,रातको समय बिताउने क्रममा उसले अन्जानमै वेलपत्र टिप्तै तल खसाल्यो। वेलपत्रले शिवलैङ्ग ढाकियो भने रातभरको भोक र चिसोले शिउ शिउ गर्दागर्दै अन्जानमै शिवनामको जप समेत गर्‍यो ।

यसबाट शिवजी प्रसन्न भएर शिकारीलाई दर्शन दिए र भने – “तिमीलाई ईच्छा लागेको वर माग म दिन्छु” अब शिकारीको मन पनि परिवर्तन भयो र म हजुरसङै बसि मोक्ष हुन पाउ भनो । शिवजी पनि “तिम्रो ईच्छा पूरा हुनेछ” भनी अन्तर ध्यान हुनु भयो । संयोगले त्यस् दिन शिवरात्री पनि थियो ।

तब भोलिपल्ट बिहान हरिणको बाचा अनुसार बिहानपख शिकारी भएको ठाउँमा आइपुगो र हे शिकारी अब मलाई आफ्नो इच्छा अनुसार उपयोग गर भन्यो । तर उसले शिवजीको दर्शन पाएपछि शिकारी प्रवृत्ति त्यगेको हुनाले उसले हरिणलाई पनि मुक्ति दियो ।

शिवरात्रिको दिन बिहानै देखि शिवालयमा भक्तहरूको घुइँचो लाग्दछ। दिनभरनै भक्तहरू आवतजावत गरिनै रहन्छन् । यद्यपि शिवजीको विशेष पूजाआजा रातमानै हुने गर्दछ।शिवलिंगमानै शिवको स्वरूप मानेर पूजा गरिन्छ ।

महाशिवरात्रि पर्वका प्रसङ्गमा लिङ्ग पुराणमा भनिएको छ-“फाल्गुन कृष्ण त्रयोदशिका दिन स्नान गरि शुद्ध मनले निराहार बसी जागा बसेर चतुर्दशीका दिन महादेवको दर्शन पूजा गरेमा सबै कार्य सिद्ध हुन्छ।” यहि मान्यता अनुसार महादेवको पूजा आरधाना गर्ने गरिन्छ। अविवाहित महिला असल पतिको कामना गर्दै व्रत बस्दछ्न् । भने बिवाहित महिला पतिको सुस्वास्थ दीर्घायुको कामना गर्दै व्रत बस्दछ्न् र अन्य भक्त हरू आआफ्नो ईच्छा र कामना सिद्ध होस् भन्ने मनोकामना राखेर व्रत पूजा गर्दछ्न् । प्रत्येक तीन घण्टाको एक प्रहर हुन्छ । रातभर जागराम बसि प्रहर-प्रहर मा शिवजीको चार प्रहर पूजा गरिन्छ । जलार्पण,रूद्राभिषेक र भजनकिर्तन पनि गरिन्छ।

“अष्टादशपुराणेषु दशभिर्गीयते शिव:”
चतुर्भिर्भगवान् ब्राह्मा द्वाभ्यां देवी तथा हरी” 

– स्कन्दपुराण,केदारखण्ड

अर्थात् अठार पुराण मध्ये दस पुराणमा शिवको चरित्र र स्तुति छ,चार पुराणमा ब्राह्माको , दुई पुराणमा देवीको र बाकी दुई पुराणमा बिष्णुको वर्णन छ। यसर्थ शास्त्रमा पनि भगवान शिव स्थान अति बिशिस्ट ढंग बाट रहेको देखिन्छ ।

शिवपुराण, लिङ्गपुराण ,स्कन्दपुराण लगायतपुराणहरूमा शिवको चरीत्र वर्णन गर्दै शिवनै परम आदरणीय परमेश्वर,विश्वब्राह्मणका सिद्धी र शक्तिको रूपमा स्पष्ट गरिएको छ।भगवान शिवजीको बाघको छाला ,नागको माला लगाएका, हातमा त्रिशुल र डमरू लिएका,स्मसानघाटमा बस्ने,वृष अर्थात् साँडेमाथि चड्ने,विष भाङ धतुरो खाने,दिगम्बर,नन्दी भृङ्गी,शृङ्गी साथमा राख्ने खालको स्वरूप चिन्तन गरिन्छ ।

भगवान शिवलाई भोलेबाबा, पशुपतिनाथ, शंकर,नीलकण्ठ, महाकाल, महामृत्युन्जय, आशुतोष , सर्बेश्वर, महदेव लगाएत १००८ नामले शास्त्रमा सम्बोधन गरेको पाईन्छ । भगवान शिव विद्या र ज्ञानका देवता हुन् । भनिएको पनि छ ” ईशान सर्व बिद्यानाम् ” । शिव शव्दको अर्थ कल्याण हो। शिव आशुतोष अर्थात् चाडो प्राशन्न हुने देवता पनि हुन् । वास्तवमा शिव आत्मरूप नै हुन्।

हिजोआज हाम्रो समाजमा शिवरात्रिमा नाममा भगवान शिव पनि भाङ,धतुरो सेवन गर्नुहुन्छ भन्दै केही मानिस दूर्व्यसनी तर्फ लाग्ने माध्यम बनाएका छन् ,केही नागाबाबाले सार्वजनिक स्थलमा नाङ्गो शरीर नचाउदै उच्छृङ्खल पन पनि देखाउछन यद्यपि यो पूर्ण गलत परम्परा हो पर्वका नाममा भित्रिएको बिकृती हो।भगवान शिवका स्वरूप र लिलाका आआफ्ना रहस्य र कारण छन् । यसर्थ भगवान शिवको जीवनलीला र त्यसको रहस्य गरिमालाई बोध गरौं । जीवनलाई कल्याणकारी मार्गमा लगाउने प्रयत्न गरौं ।अस्तु।

( लेखक नेपाल ज्योतिष परिषद् रूपन्देहीका अध्यक्ष हुन् )