ज्येष्ठ नागरिकलाई घरघरमै सामाजिक सुरक्षा भत्ता

२७ फागुन, बुटवल । बुटवल उपमहानगरपालिकाले असक्त र ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरुलाई घरमै सामाजिक सुरक्षा भत्ता उपलव्ध गराएको छ ।

उपमहानगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएसंगै प्रत्येक वडामा सामाजिक सुरक्षा भत्ता लिनेमध्येका असक्त र ८० वर्ष उमेर समूहभन्दा माथिका नागरिकहरुलाई घरमै पुगेर भत्ता प्रदान गरिँदै आएको छ ।

सोही क्रममा बुटवलको वडा नं. १ ले वडामा रहेका त्यस प्रकारका ज्येष्ठ नागरिकहरुलाई सोमबार घरघरमै पुगेर भत्ता हस्तान्तरण गरिएको छ । वडा अध्यक्ष महेन्द्रप्रसाद लिगलले त्यहाँको नारायणथान टोलस्थित एक सय चार वर्षीया सेतीलक्ष्मी श्रेष्ठलाई चार महिनाको आठ रुपैयाँ बराबरको सुरक्षा भत्ता हस्तान्तरण गर्दै कार्यक्रमको शुभारम्भ गरे ।

घरमै सामाजिक सुरक्षा भत्ता पाउँदा वडाका ज्येष्ठ नागरिकहरु निकै खुशी भएका थिए । ‘वडा अध्यक्षले घरमै आएर सामाजिक सुरक्षा भत्ता दिए, मलाई निकै खुशी लाग्यो’ वडा नं १ का ज्येष्ठ नागरिक जुलेखा खातुनले भने ।

खातुनजस्ता चन्द्रमान शाक्य, पूर्णमान श्रेष्ठ, लोकबहादुर रणपाल, श्रीराम अग्रहरिसहित २७ जनालाई उहाँहरुकै घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता उपलव्ध गराइएको वडा अध्यक्ष लिगलले जानकारी दिए । त्यसअवसरमा जनप्रतिनिधिहरु वडा अध्यक्ष लिगलसहित मदनकुमार श्रेष्ठ, सतिष कषौधन, विष्णु नेपाली, वडा सचिव गोकुल ज्ञवाली र सामाजिक परिचालिका विमला राजभण्डारीलगायतले ज्येष्ठ नागरिकको घरघरमै पुगेर भत्ता हस्तान्तरण गरेेेका थिए । यो वडामा हाल दुई सय ३८ जनाले सामाजिक सुरक्षा भत्ता लिंदै आएका छन् । लट्ठी टेकेर सामाजिक सुरक्षा भत्ता बुझ्न जानुपर्ने बाध्यतालाई जनप्रतिनिधि आएपछि सजिलो बनाइदिएको ज्येष्ठ नागरिक सित्तल गुभाजुले भने, ‘हामीलाई घरमै सरकार आए जस्तो भयो ।’

बुटवल उपमहानगरपालिकाले नगरका सबै १९ वटै वडाहरुमा यसैगरि सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।