एल.डि.ओ.को कूलपुजाको बोका बोक्न सरकारी गाडी

२९ फागुन, पाल्पा । पाल्पा जिल्लाका जिल्ला समन्वय अधिकारी(एल.डि.ओ.)ले आफ्नो कूलपुजाका लागि सरकारी गाडिमा बोका बोकाएर गाउसम्म पुगेका छन् ।

जिल्ला समन्वय समिति पाल्पाका प्रमुखले प्रयोग गर्दै आएको बा १ झ ५८८१ नंम्बरको सरकारी गाडि जिल्ला समन्वय अधिकारी रामप्रसाद पाण्डेले बुधबार स्याङ्जाको विर्घा घरमा आफ्नो कूलपूजाका लागि बोका बोक्न प्रयोग गरेका हुन् ।

सामाजिक सञ्जालमा चर्को विरोध भेटेपछि सञ्चारकर्मीले सम्पर्क गर्दा पाण्डेले आफूले हिंडालेर ल्याउन सम्भव नभएकोले गाडिमा राखेर कूलपूजाको लागि बोका गाउ“मा लगेको स्वीकारे ।

‘यो त सामान्य कुरा हो नि’, उनले भने, ‘म गाडिमा जान्छु बोका हिंडालेर लैजाउ भन्न मिलेन ।’ उनले कूलपुजामा बोका हिंडाएर लैजान सम्भव नभएकोले गाडि प्रयोग गरेको बताए ।

जिल्लास्थित सरोकारवाला निकायबाट सवारी साधनको चरम दुरुपयोग भएको भन्दै सामाजिक सञ्जालमा चर्को विरोध जनाइएको छ । जिल्ला समन्वय कार्यालय पाल्पामा यस बारेमा बुझ्दा एक कर्मचारीले गाडि कूलपुजाको लागि गएको भएपनि कोको त्यसमा सवारी थिए आफूलाई जानकारी नभएको जनाए ।