देश बिकासको मेरुदण्ड जल, जमिन र जङ्गलको समुचित उपभोग

रिवाज ढकाल

रुपन्देही । मानिसले चाहेको वा इच्छाएको परिवर्तन जुन समय सान्दर्भिक हुन्छ, समाजलाई आधुनिकताको बाटोमा लम्काउन सक्छ त्यो नै बिकास हो । हिजो परदेशमा भएको छोरोलाई पत्र पठाएर महनौसम्म जवाफ कुरेर बस्ने मेरा हजुरबा र हजुरआमा रोजारीको सिलसिलामा अमेरिका पुगेका मेरा कान्छा काकासँग आज भिडियो च्याटमा गन्थन मन्थन गर्न पाउदा खुसी ले दङ्ग हुनुहुन्छ हिजो पाखो बारी जोतेर बर्षभरी खान नपुग्ने अर्घाखाँचीका किसानहरु आज तिनै पखामा लटरम्म सुन्तला फलाएर करोडौं आम्दानी गरिरहेका छन ।

हिजो बैशाख जेठ महिनाको गर्मीले र पुस माघको महिनामा जाडोले गर्दा रातभरी छटपटाएर सुत्न नपाएका मेरा जेठाबा आहिले रातीमा गर्मी मा एसि अनि जाडोमा हिटर चलाएर सुत्न पाउँदा मख्ख हुनुहुन्छ ।

यसरी समाजलाई प्रगतिको बाटोमा लम्काउने र मानिसको जीवनलाई खुसी र सुखी बनाउने परिवर्तन नै बिकास हो । मानवीय असिमित कल्पनाहरुले सधै बिकासको सपना देख्दछ तर बिडम्वना राष्ट्रिय बिकासको रथ अगाडि बढाउने जिम्मेबारी बेकेको हाम्रो सरकारले मात्र महत्वकाङ्क्ष योजना बनाउछ, जुन कहिल्यै पूरा हुदैन ।

महाकाली र कोसीले अन्तै बेग हानेको पत्तै पाउदैन अनि आफ्नो देशका युवाहरु आफ्नो जग्गा बाँझो राखेर आफ्ना डिग्रीको सर्टिफिकेट दराजमा थन्काएर ५० डिग्रीको घाम सहेर प्रत्येक दिन १५००० युवाहरु रगत र पसिनाको भल्को छुटाउदै मरभूमीमा बगैँचा निर्माण गरिरहेको क़ुरा हाम्रो लाचार सरकारले लाटाले पापा हेरेझै टुलुटुलु हेरिरहन्छ । हाम्रो सरकारले हामी रोजगारको अवसर यहीँ दिन्छौँ भनेर भन्न पनि सक्दैन ।

ए ! नेपाल सरकार ! कहिले सम्म रेमिटेन्स ले देश धान्ने सपना देख्ने ? यहाँको जमिन नासिएको छ, उर्वर भूमिका जग्गा प्लटिङ् गरेर दलाली भैरहेको छ । शक्ति र पैसाको आडमा आफ्नो व्यक्तिगत स्वार्थमा लाग्नेहरुले यसको गलत प्रयोग गरिरहेका छन अर्थात यहाँको जल, जमिन र जङ्गलमा बागको छालामा स्यालको रजाई भैरहेको छ ।

यहाँहरुले ३ हजार ५० मिटरमा धान फलेको देख्नु भाको छ । देख्नु भाको छैन भने हाम्रो देश नेपालको जुम्ला जिल्लाको मार्सी धानको स्वाद्ले सबैको मन छुन्छ । यो धान विश्व भरिका ७ विलियन मानिसलाई एक एक चम्चा चाख्न मात्र दिने हो भने हामी नेपाली धनी भएको पत्तै पाउदैनौँ ।

यहाँको जमिन अथाहा अन्न फलाउन सक्ने क्षमता राख्दछ। तर हामी भारतको धान नेपालको मिलमा कुटेर नेपाली लेवल लगाएर बजार पठाइरहेका छौँ अनि हाम्रा स साना भाइबहिनीहरुलाई अझै पनि “Nepal is an agricultural country” भनेर रट्टा मार्न सिकाइरहेका छौँ ।

मलाई त अचम्म लाग्छ जम्मा २ प्रतिशत जनसंख्या कृषि मा संलग्न राष्ट्र आमेरिकाले कृषिबाट मिलियन डलरको आम्दानी गरिरहेको छ तर नेपालमा २०७१ सालमा कृषि सूचना तथा संचार केन्द्र अनुसार नेपालको कुल जनसंख्याको ६५/६६ प्रतिशत जनसंख्या अझै पनि कृषि पेशामा नै निर्भर रहेको कृषि प्रधान हाम्रो देश नेपाल कृषिमै सबैभन्दा बढी ब्यापार घाटा छ । सन २०१६-१७ को आँकलन हेर्ने हो भने ३३ अर्ब को खाद्यान्न भित्र्याउँछ ।

आयात आकासिदो छ निर्यात ओरालो लागेको लागै छ । त्यस्तै समृद्ध बन्ने हो भने स्याङ्जा, मनकामना र गोर्खामा फल्ने ती लाखौ सुन्तला हरु विश्व वजारमा बेच्ने सपना आजैदेखि बुनौँ । यहाँका बनपाखामा रहेका जडीबुटीहरु सिन्कीको भाउमा छिमेकी राष्ट्रहरुमा निर्यात हुन्छन् र तिनै बाट बनेका औषधिहरु सुनको मुल्यमा भित्र्याउन बाध्य हुन्छौ।

हिमाली पाखाका बहुमूल्य यार्सागुम्बाको संरक्षण , संकलन र निर्यात व्यवस्थित हुन सकिरहेको छैन । यार्सागुम्बाको सिरानी लगाएर सुत्ने हामी नेपालि २ रुपियको जीवनजल खान नपाएर मर्नु परेको छ । यता हामीले जलस्रोतलाई खाली विद्युतको रुपमा हेरिरहेका छौ । यो चिन्तन हटाएर यसलाई पर्यटनको क्षेत्रका रूपमा वदल्नु पर्छ।

यातायातमा सर्बाधिक सस्तो यातायात जल क्षेत्र हो, हाम्रो ६ सय नदी को ४२ हजार कि मि लम्वाइ यातायातको रुपमा प्रयोग गर्न सके देशले छिट्टै फड्को मार्नेछ । सहासी पर्यटनमा बिदेशीहरुको चाख बढिरहेको सन्दर्भमा पर्यटकहरुलाई नेपालका नदीहरुमा सहासिक र्याफ्टिङ्को आनन्द दिन सके पर्यटन बिकास आकासिन पुग्छ ।

मेरो राष्टको बिकासको क्षमता हेर्ने हो भने नेपालले स्वीटजरल्याण्को सपना होइन भोलि स्बीट्जरल्याण्डले नेपालको सपना बुन्ने दिन आउन सक्छ । कैयो खेती योग्य जमिनको घाटी सुकेको बेला आफ्नै राष्टको नदीमा बाँध बाध्न दिल्लीलाई सोध्नुपरेको छ ।

अब कतारमा भाडा माझिरहेका, मलेसियामा भेडा चराइरहेका हाम्रा दाजुभाइलाई यहीँ फर्काउनुछ र मानवीय सिर्जनाले ढकमक्क विकासका फूल फुलाउनु छ । अहिलेको परनिर्भर कृषि र यसले निम्त्याएको खाद्य सङ्कटको सम्बोधन गर्दै , वातावरणीय विनाश र प्राकृतिक सम्पदाको तीव्र दोहनले परेको नकारात्मक प्रभावलाई उल्टाएर प्रकृति र समाजलाई पुनस्थापना गर्ने अबसरको सिर्जना गर्नुछ ।

( लेखक ढकाल प्रस्तुत शीर्षकमा रुपन्देही जिल्ला स्तरिय अन्तर मा . वि. वक्तृत्वकला प्रतियोगितामा पुरस्कृत हुन सफल कक्षा नौ मा अध्यायनरत विद्यार्थी  हुन् )