मेल्भिन दिवसमा मखमलीको कार्यक्रम

२६ पुस, बुटवल । अन्तराष्ट्रिय सामाजिक संस्था लायन्सका जन्मदाता मेल्भिन जोनको १ सय ४० औ स्थापना दिवसलाई लायन्स क्लब अफ बुटवल मखमलीले सप्ताहब्यापी कार्यक्रमहरु गरि मनाएको छ ।

बुधबार बुटवलमा क्लबले मधुमेह सम्बन्धि सचेतना जगाउने उद्येश्यका साथ फ्रि डायबेटिज क्याम्प संचालन गरेको थियो । मंगलम पोली क्लिनिक र पशुपति टोल विकास संस्थाको सहयोगमा संचालन भएको क्याम्पमा ५५ जनाको निशुल्क जाच (फाष्टिक) गरिएको कार्यक्रमको डाईबिटिज ब्यवस्थापन डिष्टिक चिफ प्रतिभा श्रेष्ठले बताईन ।

समयमा उपचार पाए मधुमेह रोकथाम हुने भएकाले पनि यसबारेमा सचेतना जगाउन जरुरी रहेको उनले बताईन । कार्यक्रममा एरिया चिफ कोअर्डिनेटर पुरुषोत्तम भक्त प्रधानाङ्ग, कमला जिसी, कमला खत्रीले सामाजिक सेवामा क्लबबाट धेरै राम्रा कामहरु भएको बताए । महिलाहरु आवद्ध रहेको क्लबले वर्षभरि नै लायन्स क्लबको उद्येश्य सफल बनाउने गरि कार्यक्रमहरु गर्दै आएको क्लबका अध्यक्ष प्रिया गुरुङ्गले बताईन ।

यसअघि दिवसको अवसरमा हन्गर प्रोगाम अन्तरगत मिलनचोकस्थित मानव सेवा आश्रममा आश्रितहरुलाई निशुल्क खाना खुवाउने तथा देविनगरस्थित नेपाल अपाङ्ग आश्रमलाई अक्षयकोष स्थापना गर्न रु १० हजारका साथै फलफुल र खाना खुवाउने कार्यक्रम समेत गरिएको उनले बताईन ।