नमस्ते नेपालको महाअभियान: पाँचौ हप्तासम्म ३ हजार विद्यार्थी प्रशिक्षित

२७ पुस, बुटवल । विभिन्न सामाजिक कार्यहरु गर्दै आएको नमस्ते नेपालले लागुुऔषध तथा महिला हिंसा बिरुद्ध महाअभियान सञ्चालन गर्दै पाँचौ हप्तासम्म सफलता प्राप्त गरेको छ । पाचौ हप्तामा आइपुग्दा विभिन्न कलेजका ३ हजार बिद्यार्थी प्रशिक्षित भएका छन । अब ६ दिनसम्म चल्ने प्रशिक्षणमा २ हजार बिद्यार्थीसम्म यो अभियान पुग्ने संस्थाले जनाएको छ । सोहि अभियान अन्तर्गत शुुक्रबार मणिमुकुन्द कलेज बुटवलमा प्रशिक्षण सम्पन्न गरेको छ । अहिलेको स्थितिमा देशका कर्णधार युवाहरु नै लागुपदार्थ दुर्व्यसनी, कुलत र हिंसामा संलग्न हुँदा देशको शान्ति,सुरक्षा र विकासमा असर पर्ने निश्कर्ष निकाल्दै युवालाई सचेत गराउने उद्देश्यले सो महाअभियान शुुरु गरेको संस्थाका अध्यक्ष अर्जुन खरेलले बताए ।

यसअघि बुटवलस्थित अक्सफोर्ड कलेज र तिलोत्तमा स्थित न्यूलाइट कलेज तथा न्यूू होराइजन कलेज ड्राइभरटोल ,शंकरनगरस्थित शंकरनगर दुर्गादत्त माविमामा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको थियो । महाअभियानले ५ हजार विद्यार्थीलाई प्रशिक्षण दिने लक्ष्य राखेको छ । विशेषगरी प्लस-टू अध्ययन गर्ने विद्यार्थीहरु कुलतमा बढी फस्ने सम्भावना हुने रहेको बताउँदै सोही अनुसार कक्षा ११ मा पढ्ने विद्यार्थीहरुलाई लागुऔषध सेवन र महिला हिंसा विरुद्ध प्रशिक्षण अभियान सञ्चालन गरेको संस्थाका उपाध्यक्ष मनिष भुसालले बताए ।

वडा प्रहरी कार्यालय बुटवलको समन्वयमा भएको कार्यक्रममा सोही वडाका इन्सपेक्टर हेम के.सी.ले प्रशिक्षण गरेका थिए । तीन सय बढी विद्यार्थी सहभागी प्रशिक्षण कार्यक्रममा उनले लागुऔषध दुु्रव्यशनको परिचय र यसका असरबारे सचेतना गराउँदै विद्यार्थीहरु सजग रहँदै अरुलाई पनि सचेत गर्न आग्रह गरे । यसैगरी महिला हिंसा मात्र नभई सबै प्रकारका हिंसा बढेको बताउँदै उनले न्यूनिकरणमा सबैको सक्रियता र सहकार्य आवश्यक रहने बताए ।

संस्थाका अध्यक्ष अर्जुन खरेलको अध्यक्षता , वडा प्रहरी कार्यालय बुटवलका इन्सपेक्टर हेम के.सी.को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममाविशिष्ट अतिथि बुटवल उपमहानगरपालिका वार्ड नम्बर १०का वडाका अध्यक्ष रामचन्द्र क्षेत्री कलेजका संयोजन लालहरि पाण्डे , पत्रकार मनिष पन्थ लगाएतले बोल्दै युुवा लक्षित कार्यक्रमको सफलताको शुुभकामना दिएका थिए । सस्थाका सचिव सरोज खनालको स्वागतमा शुरु सो प्रशिक्षण कार्यक्रमको सञ्चालन निराजन खरेलले गरेका थिए ।