उजिरसिह रनिङ्ग शिल्ड वडा स्तरीय क्रिकेट प्रतियोगितामा वडा नं. ४ र वडा नं. २ विजयी

२६ पुस, बुटवल । बुटवलमा जारी उजिरसिह रनिङ्ग शिल्ड वडा स्तरीय क्रिकेट प्रतियोगिता २०७५ मा वडा नं. ४ र वडा नं. २ विजयी भएका छन ।

बुटवल उपमहानगरपालिकाको सहयोग र बुटवल क्रिकेट विकास समितिको आयोजनामा विहिबार भएको पहिलो खेलमा वडा नं. ४ ले वडा नं. ८ माथि ४ विकेट तथा दोस्रो खेलमा वडा नं. २ ले वडा नं. १७ माथि समान ४ विकेटको जित निकालेको हो ।

नहरपुर माविको खेलमैदानमा भएको पहिलो खेलमा टस जितेर वडा नं. ८ ले ब्याटिङ्ग रोज्दै १६ ओभरमा ९ विकेट गुमाएर केवल ७२ रनको लक्ष्य खडा गरेको थियो । उसका लागि प्रकाश केसीले १४ तथा नारायण खड्काले १४ को योगदान दिएका थिए । वडा नं. ४ का अर्जुन पौडेल र गौरव मल्लले समान २–२ विकेट लिएका थिए । कम लक्ष्य पछ्याएको वडा नं. ४ का ब्याटसम्यान १३ ओभरमा केवल ६ विकेटको नोक्सानीमा विजयी भयो । वडा नं. ४ का प्रथम पराजुलीले नटआउट २४ रन जोडेका थिए । वडा नं. ८ का घनश्याम चौधरीले २ विकेट लिएका थिए । खेलमा वडा नं. ४ का अर्जुन पौडेल म्यान अफ दी म्याचबाट पुरस्कृत भएका छन ।

यसैगरि दोस्रो खेलमा टस जितेर वडा नं. १७ ब्याटिङ्ग रोज्दै १६ ओभरमा ७ विकेट गुमाएर ९२ रनको योगफल तयार गरेको थियो । उसका लागि श्री चौधरीले २५ र अश्वीन गैरेले २३ रनबाहेक अन्य ब्याट्सम्यान दोहोरो अंकको रन जोड्न सकेनन । वडा नं. २ का मदन घिमिरेले २ विकेट लिएका थिए । मध्यम लक्ष्य पछ्याएको वडा नं. २ का ब्याट्सम्यानले १४.२ ओभरमा ७ विकेटको नोक्सानीमा विजय भएका थियो । उसका लागि मधु पन्थीले ३२ तथा सन्जोग गुरुङ्गले नटआउट १६ रन बनाएका थिए । वडा नं. १७ का विवेक थारु र कुशल थापाले समान २–२ विकेट लिएपनि खेलमा जित हासिल गर्न सकेन । वडा नं. २ का मधु पन्थी म्यान अफ दी म्याचबाट पुरस्कृत भएका थिए ।

शुक्रबार पहिलो खेल वडा नं. १३ ए र वडा नं. १ तथा दोस्रो खेल वडा नं.१० र वडा नं. ११ का बिचमा हुने खेल संयोजक राजु रानाले बताए । प्रतियोगिताको फाईनल खेल माघ २ गते हुने छ ।

प्रतियोगिताको उपाधि विजेताले नगद २५ हजारसहित कप, मेडल र प्रमाणपत्र तथा उपविजेताले नगद १२ हजार ५ सय, कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि प्रतियोगितामा एक जना सर्वोत्कृट खेलाडीलाई म्यान अफ दी सिरिज, एक जना उदयमान खेलाडी तथा उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यानबाट पुरस्कृत गरिने छ ।