उजिरसिह रनिङ्ग शिल्ड वडा स्तरीय क्रिकेटमा वडा नं. ७ र १३ बि विजयी

२५ पुस, बुटवल । बुटवलमा जारी उजिरसिह रनिङ्ग शिल्ड वडा स्तरीय क्रिकेट प्रतियोगिता २०७५ मा वडा नं. ७ र वडा नं. १३ बि विजयी भएका छन ।

बुटवल उपमहानगरपालिकाको सहयोग र बुटवल क्रिकेट विकास समितिको आयोजनामा बुधबार भएको पहिलो खेलमा वडा नं. ७ ले वडा नं. १४ माथि ८ विकेट तथा दोस्रो खेलमा वडा नं. १३ बि ले वडा नं. १६ माथि ७ रनको जित निकालेको हो ।

नहरपुर माविको खेलमैदानमा भएको पहिलो खेलमा टस जितेर वडा नं. १४ ले ब्याटिङ्ग रोज्दै १५.३ ओभरमा सबै विकेट गुमाएर केवल ७५ रनको लक्ष्य खडा गरेको थियो । उसका लागि सुरज भण्डारीले ४९ रनको योगदान दिएका थिए । यसैगरि वडा नं. ७ का एजाज आलमले ३ विकेट लिएका थिए । कम लक्ष्य पछ्याएको वडा नं. ७ का ब्याटसम्यान ६.२ ओभरमा केवल २ विकेटको नोक्सानीमा विजयी भयो । वडा नं. ७ का उमेश गौतमले ३५ रन जोडेका थिए । खेलमा वडा नं. ७ का एजाज आलम म्यान अफ दी म्याचबाट पुरस्कृत भएका छन ।

यसैगरि दोस्रो खेलमा टस जितेर वडा नं. १३ बि ब्याटिङ्ग रोज्दै १०.४ ओभरमा सबै विकेट गुमाएर ७७ रनको योगफल तयार गरेको थियो । उसका लागि अनिल रायमाझीले २० र नरेश ठकुरीले १९ रन बनाए । वडा नं. १६ का सुरज परियारले ५ विकेट लिएका थिए । मध्यम लक्ष्य पछ्याएको वडा नं. १६ १२.४ ओभरमा केवल ७० रनमा समेटिएको थियो । उसका लागि नेत्र क्षेत्रीले १६ रनबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन । कम स्कोरमा रोक्न वडा नं. १३ बि का रोशन थापाले शानदार ५ विकेट लिएका थिए । उनि खेलमा म्यान अफ दी म्याचबाट पुरस्कृत भएका छन ।

विहिबार पहिलो खेल वडा नं. ४ र वडा नं. ८ तथा दोस्रो खेल वडा नं. १७ र वडा नं. २ का बिचमा हुने खेल संयोजक राजु रानाले बताए । प्रतियोगिताको फाईनल खेल माघ २ गते हुने छ ।