अन्तर मावि दौड प्रतियोगिता आयोजना

२४ पुस, बुटवल । बुटवलमा आउँदो शुक्रबार अन्तर मावि दौड प्रतियोगिता हुने भएको छ ।

मदन भण्डारी स्पोर्टस् एकेडेमी बुटवल उमहानगर कमिटीले दक्ष खेलाडी उत्पादन गर्ने उद्देश्यले चौथौ बटौली ५ हजार मिटर अन्तर मावि छात्र÷छात्रा दौड प्रतियोगिता गर्न लागेको हो । प्रतियोगिताको तयारी तीब्र बनाइएको एकेडेमीले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

प्रतियोगितामा रूपन्देहीका निजी र सामुदायिक विद्यालयका विद्यार्थीहरूले प्रतिष्पर्धा गर्नेछन । दौड शुक्रबार बिहान साढे सात बजेदेखि बुटवलको योगिकुटीदेखि ट्राफिकचोकसम्म हुने एकेडेमीका अध्यक्ष विकासजंग बस्नेतले जानकारी दिए । प्रतियोगितामा प्रथम हुने छात्र/छात्राले १० हजार, द्वितीयले ६ हजार र तृतीयले ४ हजार पाउने एकेडेमीका सचिव नवसुजीत भण्डारीले जानकारी दिए । २०६६ सालमा स्थापना भएको एकेडेमीले विभिन्न खेलकूद तथा सामाजिक कार्यहरू गर्दै आएको छ ।

त्यस्तै एकेडेमीले आउँदो माघ २ गते दोस्रो मदन भण्डारी अन्तर मावि फुटसल प्रतियोगिता गर्ने भएको छ । प्रतियोगितामा प्रथम हुने टिमले २२ हजार २ सय २२, द्धितीयले ११ हजार १ सय ११ र उत्कृष्ट खेलाडीले २ हजार २ सय २२ प्राप्त गर्ने बस्नेतले जानकारी दिए । सोही अवसरमा खेल र खेलकूदको विकास, प्रवद्र्धन गर्ने पत्रकारलाई पनि सम्मान गरिने छ ।