संस्कार बस्न नसकेको राजनिती

टिकाराम घिमिरे

बुटवल । राजनिती एउटा सेवा हो । राजनिती एउटा संस्कार पनि हो । राजनितीले कोहीलाई दशकौँसम्म अजरअमर बनाउन सक्छ । कोहीलाई राजनितीले कलङ्कित पात्रको रुपमा समेत चित्रीत गर्न सक्छ । त्यसैले पनि भनिएको हुनुपर्छ राजनिती एउटा संस्कार हो र एउटा धर्म हो राजनितीले संस्कार सिकाउँछ। यस्तो संस्कार सिकाउँछ, मानव भलो, आफ्नो जन्मभुमी, मातृभुमी भलो । यती विशाल संस्कार सिकाउने राजनितीलाई हामी सङ्कुचित किन बनाउँदै छौ ।

अरूको कुरा के गर्नु, हाम्रै देशको कुरा गरौँ । १०४ वर्ष राणाहरूको जाहनिया दमन सहययौँ, औँलामा गन्न सकिने उपलब्धीबाहेक हामीहरुले राणा शासनबाट कुनै ठोस राजनैतिक उपलब्धी हासिल गर्न सकेनौँ । शिक्षा चेतना र अग्रगमनको कमी हुँदा राणा बिरुद्द बोल्ने जनता थिएनन् । त्यसकारण पनि रणाहरूले संस्कारको राजनिती गरेनन् । सर्वस्विकार्य राजनिती गरेनन् । सम्बृद्दीमा जनताको अपनत्व हुने गरी काम गरेनन्, र त उनीहरू असफल भए । २००७ सालमा प्रजातन्त्रको उदय पछी के हाम्रा राजनितिज्ञले संस्कारको राजनिती गरे ? हिसाव खोज्नु जरूरी छ । राणाहरूले सम्बृद्दीलाई अपनत्व दिन नसक्दा आफै पतन भएर गए । के हाम्रा राजनितिज्ञेले प्रजातन्त्रमा सम्बृद्दीलाई नागरिकसंग जोडेका छन् तरु प्रश्न उठ्छ ।

२००७ सालपछी मुलुकले निकास कहिल्यै पाएन । कहिले संविधानको लडाइँ, कहिले राजासंगको लडाईँ, कहिले राजनितिक दलको लडाईँ, कहिले बर्गिय लडाइँ हामीले भोग्दै आएका छौँ । जननिर्वाचित प्रधानमन्त्री बीपी कोईराला सत्तामा बस्दा धेरै नेपालीले नेपालमा संस्कारको राजनिती सुरु भयो भनेर धेरै लामो सास फेरे । मुलुकले बिकासको गती लिनेमा ढुक्क भए । आम सर्वसाधरण राजनितीका भित्री कुरा बुझ्दैनन् । तर मुलुकमा आउने हरेक सकारात्मक परिवर्तनलाई अपनत्व भने अवश्य लिन  खोज्छन् ।

आफ्नो मुलुकले प्रताडना र समस्या एवं जटिल सङ्क्रमणकालीन सङ्कटापन्न दुरावस्थाबाट मुक्ती पाएको थाहा पाउँदा खुसी ब्यक्त नगर्ने नागरिक को होला र ? सायद त्यो बेलाका जनता २०१५ सालमा भएको निर्वाचनमा मतदान गर्दा  जती खुसी थिए, त्यतिकै मात्रामा नेपालमा जननिर्वाचित प्रधानमन्त्री कुर्सीमा बस्दा खुसी भए। तर समय बदलियो । देशको भुराजनितीले अर्कै रुप लियो । जननिर्वाचित सर्कार बिगठन भयो  र मुलुकमा राणाकालीन शासनको झझल्को दिने गरी  पञ्चायती ब्यबस्था सुरू भयो ।

प्रजातन्त्र स्थापनाका लागी राजनैतिक दलहरूले २०४६ सम्म नै कुर्नुपर्यो । २०४६ सम्म पनि मुलुकमा संस्कारको राजनिती कहिल्यै भएन । जनता अबुझ ठहरिए । यसको परिणाम २०४६ सालमा पहिलो जनआन्दोलन भयो र प्रजातन्त्रको उदय भयो ।  तर पनि मुलुकले सोँचेअनुसार काँचुली फेर्न सकेन । प्रजातन्त्रको उदयपछी राजनैतिक नेताहरू सत्ताको लोभमा फसे । एकले अर्काको खुट्टा तान्ने प्रबृत्ती मौलायो । यसले मुलुकलाई केही पनि फाइदा गरेन । आम नागरिकलाई राजनिती फोहोरी खेल हो भन्ने बाहेक अरु त्यस्तो केही छाप छोडेन।   प्रजातन्त्रमा पनि नेताहरू मोटाउने जनता एक गास खानका लागी सङ्घर्ष गर्नुपर्ने बाध्यता हाम्रो प्रजातन्त्रको लज्जाको विषय बन्यो । २०५२ सालदेखी मुलुकले सशस्त्र द्वन्द्व भोग्यो ।

राजधानीमा राजनितीक दलहरू सत्तालिप्सामा ब्यस्त थिए । उता माओबादी भने जनतालाई सम्बृद्दीको सपना बाँडिरहेको थियो । रुकुम, रोल्पा जहाँ एक गास खानका लागी पनि निकै सङ्घर्ष गर्नुपर्ने ठाउँमा माओबादीले आसवासनको खेती गर्यो । बिस्तारै मलजल गर्यो अनि हुर्कायो । यसैको जगमा मुलुकमा नया युद्दको विजारोपण भयो । फलस्वरुप मुलुकको राजनैतिक राज्यब्यवस्था अदलबदल हुने गरि राजनैतिक दलले अन्ततः यो  युद्दलाई बिसर्जन गरे । ०६२/०६३ को जनआन्दोलनले मुलुकको राज्यब्यवस्था नै परिवर्तन गरिदियो । राजाले एकलौटी राज्य चलाउँदा देश बिकास हुन नसकेको, जहानिया शासन बढेको , आफू अनुकुलका मान्छेलाई प्रयोग गरेको , जनताको हितमा काम नगरेको जस्ता कारणले दुई सय चालिस वर्षिय लामो राजतन्त्रको अन्त्य भयो ।

मुलुकमा सबैभन्दा ठुलो आशा जगाइएको थियो भने त्यो ०६२/०६३ को जनआन्दोलनका बेला हो । त्यो बेला नेपालीमा मुलुकमा संस्कारको राजनिती सुरु हुन्छ भन्ने ठुलो अपेक्षा थियो ।  यसलाई पुस्टी गर्ने गरी राजनैतिक दलले केही ठोस काम पनि गरे ।  बिना रक्तपात राजालाई दर्वारबाट बिदाई गरिनु, २०६४ साल मङ्सीर ५ गते बिस्तृत शान्ति सम्झौता गरिनु, २०६४ साल चैत्र २८ गते संविधान सभाको पहिलो निर्वाचन गरिनु, २०६५ साल जेठ १५ गते गणतन्त्रको घोषणा गरिनु जस्ता उपलब्धीले मुलुकमा राजनैतिक दलप्रतिको जनविश्वाँस ह्वात्तै बढेर गयो । अव राजनितीले सही बाटो लिन्छ र मुलुकले निकास पाउँछ भन्ने छोँटो समयमा भएका राजनैतिक उपलब्धीले देखाएको थियो । तर दुर्भाग्य, राजनैतिक दलहरू उही सत्तालिप्सामा लागे ।

देशका लागी भन्दा पनि आफ्नाहरूका लागी काम गर्न लागे । फलस्वरुप ऐतिहाँसिक संविधान सभाको आयु सकियो । राजनैतिक दल एक हिसावमा असफल भए । मुलुकले गैर दलिय सरकार ब्यहोर्यो ।  र पनि मुलुकले सोँचेजस्तो उपलब्धी हाँसिल गर्न सकेन । बिकास र सम्बृद्दी सपनामा मात्रै सिमीत भयो । दोस्रो संविदान सभाको निर्वाचनले मुलुकमा संविधान जारी गर्यो । आम नागरिकमा फेरी पनि आशाको सञ्चार भयो । अहिले हामी दुईतिहाई बहुमत भएको सर्कारबाट मुलुकको स्थायी बिकासको मार्ग चित्र खोजीरहेका छौँ ।

संस्कारयुक्त राजनितीको खोजी

बिकास र सम्बृद्दीको नारा लिएर सत्ता सञ्चालन गरिरहेको  नेपाल कम्युनिस्ट पार्टी आफैभित्रको किचलोले एउटा मोर्चाजस्तै बन्न पुगेको छ । आफूलाई प्रजातन्त्रबादी भन्ने काङ्ग्रेसको घरझगडा हेर्दा लाग्छ , मिल्नै नसक्ने आफ्नै हित हेर्ने संस्कारबाट हामीले केको देशको बिकासको अपेक्षा राख्ने ? हामीले खोजेको संस्कारको राजनिती हो । हामीलाई सत्तापक्षे र प्रतिपक्षे दुबैबाट संस्कारको राजनिती चाहिन्छ । जनताप्रती उत्तरदायी दुबै बन्नुपर्ने देखिन्छ ।

कुनै पनि बिकास र सम्बृद्दीका सपना देखाउनुअघी नागरिकले अपनत्व हुने गरि काम गरिनुपर्छ । नागरिकको आवश्येकता के छ । जुन शासकले बुज्छ  त्यो नै एउटा संस्कारी राजनितिज्ञ हो ।  नैतिक मुल्य मान्यता र आचरण  तथा सामाजिक आदर्शअनुरुपको ब्यबहारिक रुपन्त्रण हाम्रो बर्तमान राज्यप्रणाली र नेतृत्व तहको मात्र होईन, समस्थ नेपालबासी जनमानसको आवश्यकता हो ।