प्रदेशको राजधानी र नाम तोक्ने कार्यविधि बनाउने जिम्मा

१९ मङ्सिर, खस्यौली (रासस) । प्रदेश नं ५ को नामरकण र स्थायी राजधानी सिफारिश समितिको कार्यविधि बनाउने विषयलाई टुङ्गो लगाउन प्रदेशसभाका तीन सदस्यलाई जिम्मा दिइएको छ ।

प्रदेश नं ५ को प्रदेश सचिवालयमा आज बसेको प्रदेश नं ५ को नामकरण र स्थायी राजधानी सम्बन्धी विशेष समितिको बैठकले समितिका संयोजक दीपेन्द्रकुमार पुन, तुलसी चौधरी र रमा अर्याललाई जिम्मा दिइएको प्रदेश सचिवालयले जनाएको छ । उनले प्रदेशसभा सञ्चालन हुनु अघि २६ गतेभित्र कार्यविधिमा संशोधन गरेका छन् ।

विशेष समितिका सदस्य तुलसी चौधरीले स्थायी राजधानीका लागि अझै केही समय लाग्ने उल्लेख गर्दै कार्यविधि पूर्ण भएपछि जिल्ला जिल्लाबाट सुझाव सङ्कलन गरिने जानकारी दिए । उनले समितिको म्याद थपका लागि आग्रह गरिएको जानकारी समेत दिँदै प्रदेशसभाले म्याद थप नगरे प्रदेशसभामा नै छलफल गरिने बताए । चौधरीले भने, “स्थायी राजधानीको विषयमा अझै टुङ्गोमा पुगिएको छैन र नामकरण गर्ने, स्थायी राजधानी तोक्ने विषयमा विधि बनाउँदै छौँ ।”

प्रदेश सदस्य चौधरीले प्रदेश नं ५ का विभिन्न जिल्लाबाट नामकरण र स्थायी राजधानीका विषयमा सुझाव सङ्कलन गरिने छ भने । प्रदेश नं ५ नेपाली काङ्ग्रेसका संसदीय दलका नेता तथा समितिका सदस्य बलदेव शर्मा पोखरेलले प्रदेशसभाका सदस्यले नै स्थायी राजधानीको टुङ्गो लगाउन सक्ने उल्लेख गर्दै अरुले टुङ्गो लाग्दैन भने ।