अन्तर्राष्ट्रिय विमानस्थलको विकासमा महत्वपूर्ण भूमिका खेल्ने’- सभामुख महरा

१९  मङ्सिर, दाङ । सङ्घीय संसद्का सभामुख कृष्णबहादुर महराले अन्तर्राष्ट्रिय विमानस्थल निर्माणले समग्र दाङको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

घोराही उपमहानगरपालिका–१० नारायणपुरस्थित वडा कार्यालय पुगेर महराले नारायणपुरवासीलाई अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको विरोध नगर्न अपिल गरे । उनले भने, “हामी कहिले पनि विकास विरोधी हुनुहुँदैन, स्थानीयवासीका समस्या समाधान गरेर विमानस्थल निर्माण गर्नुपर्छ ।” विमानस्थल बनाउँदा स्थानीयवासीको ऐलानी जग्गाको पनि मुआब्जाको व्यवस्था गरिने उनले प्रतिबद्धता जनाए ।

विमानस्थल निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न परामर्शदाता नियुक्त भइसकेको जानकारी दिँदै उनले तत्काल प्रक्रियागत काम शुरु हुने पनि जानकारी दिए । नेपाल सरकारको बजेटले मात्र विमानस्थल निर्माणको काम समयमै सम्पन्न हुन नसक्ने उल्लेख गर्दै उनलेत्यसका लागि निजी क्षेत्रको लगानी खोज्नुपर्ने धारणा राखे । “निजी क्षेत्रको लगानी भित्र्याएर भाडामा सञ्चालन गर्न दिने गरी निर्माण गर्नुपर्छ”, सभामुख महराले भने । उनले विमानस्थल निर्माणका लागि आवश्यक पर्ने बजेटको व्यवस्था गर्न अन्तर्राष्ट्रिय दातृनिकायहरुसँग पहल गर्ने बताए ।