वैदेशिक रोजगारीमा गएका नेपालीको शेयर बजारमा रुचि

२१ कात्तिक, बुटवल । वैदेशिक रोजगारीमा गएका नेपालीहरु शेयर खरीद बिक्रीमा संलग्न हुने क्रम बढेको छ ।

खासगरी कोरिया, दुवई, साउदी अरब लगायतका मुलुकमा वैदेशिक रोजगारीमा गएकाले आफ्नो परिवार वा अनलाइन मार्फत् रु ५० हजार देखि रु पाँच लाखसम्मको शेयर खरीद तथा बिक्री गर्ने गरेको बुटवल स्थित विभिन्न शेयर दलालका कार्यालयले जनाएका छन् ।

“उनीहरुले विदेशबाट नै भन्छन् र हामीले खरीद गरिदिन्छौँ” दक्षिणकाली इन्भेष्टमेण्ट बुटवलका शङ्कर भण्डारीले बताए । पूँजी बजार अनलाइन प्रणालीमा गए पछि सबै भन्दा बढी वैदेशिक रोजगारीमा गएका लगानीकर्ता खुशी देखिएको उल्लेख गर्दै उनले आफ्नो कार्यालयबाट सबै भन्दा बढी कोरियाका रहेको बताए । अघिल्लो साता सो कार्यालयबाट कूल रु ६० लाख बराबरको कारोवार भएको छ । एशियन सेक्युरिटिज प्रालि ९२६० नं दलाल कार्यालय बुटवलका पुष्पनिधि ढकालले भाइवरको प्रयोग मार्फत शेयरको माग गर्ने गरेको जानकारी दिँदै तीन देखि रु पाँच लाख बराबरको शेयर खरीदको माग भएको छ उनले भने ।

दुवही, साउदी अरब र कोरियाबाट समेत शेयर खरीद तथा बिक्रीका लागि आउने गरेको उल्लेख गर्दै रुपन्देही, पाल्पा र गुल्मीका वैदेशिक रोजगारीमा गएका श्रमिक शेयर बजार प्रति आकर्षित भएको भनाइ थियो । सो सेक्युरिटिज प्रालिबाट अघिल्लो साता कूल रु ५७ लाख ५१ हजार बराबरको कारोवार भएको उनको भनाई थियो ।

आर्यनतारा इन्भेष्टमेण्ट प्रालि ९५७० नं दलाल कार्यालय बुटवलका टेकराज भट्टराईले कोरियाबाट चार जनाले शेयर खरीद तथा बिक्री गरेको जानकारी दिँदै अनलाइनबाट नै भुक्तानी हुने गरेको बताए । “ वैदेशिक रोजगारीमा गएकाले श्रीमती वा परिवारको सदस्यको नाममा शेयर खरीद बिक्री गर्नुहुन्छ र चेक पनि बोकेर आउनुहुन्छ ”, भट्टराईले भने । उक्त कार्यालयबाट कूल रु एक करोड २६ लाख १३ हजार ३८० बराबरको कारोवार भएको थियो । लगानीकर्ताको बैंक सम्बन्धी शेयर सबैभन्दा बढी रोजाइमा परेको छ । यी बाहेक रुपन्देहीमा पाँच वटा शेयर दलाल कार्यालयले शेयरको खरीद तथा बिक्री गर्ने गर्छन् ।